असल कामको अगुवाइ– फेदिखोला र भीमफेदी गाउँपालिका अघिअघि, सिंहदरबार पछिपछि

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८०, बुधबार १४:२६

मकवानपुर । सरकारले अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सुरू नगर्दै दुई स्थानीय तहले यसको थालनी गरिसकेका थिए । स्याङजाको फेदिखोला गाउँपालिका र मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध पहिलैदेखि गराएको हो ।

कोषले ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ अनुसार वैशाख एक गतेदेखि कार्यान्वयनमा ल्याए पनि करिब चार महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक भव्य समारोहका बीच उक्त योजनाको शुभारम्भ गरेका हुन् । यद्यपि स्याङ्जाको फेदिखोला गाउँपालिकाले भने एक महिनाअघि नै सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेर उक्त योजना सुभारम्भ गरिसकेको छ भने मकवानपुरको भिमफेदी गाउँपालिकाले पनि केही दिनअघिदेखि नै सुरू गरेको थियो ।

सामाजिक सुरक्षा कोषसँगको सम्झौतालगत्तै पालिकामा यो कार्यक्रम कार्यान्वयनमा ल्याइसकिएको फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गत असार २७ गते नै एक औपचारिक समारोहकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

श्रमिक र स्वरोगार व्यक्तिलाई कोषमा आवद्ध गर्ने, उनीहरूको योगदान रकम संकलन गर्ने र ऐन, नियमावली र कार्यविधिबमोजिम सरकारको तर्फबाट सह(योगदान गर्ने सम्बन्धमा दुई पक्षबीच समझदारी भएको हो । समझदारी पत्रमा पालिकाको तर्फबाट ६ बुँदा कार्यान्वयन गर्ने र कोषका तर्फबाट तीन बुदाँ कार्यन्वयन गर्ने सहमति भइसकेको छ ।

कोषले आठदेखि १० स्थानीय तहलाई प्रस्ताव गरे पनि पहिलो चरणमा फेदीखोला गाउँपालिका सम्झौता गर्न तयार भएपछि सम्झौता गरिएको जनाएको छ । यस्तै दोस्रो स्थानीय तहका रुपमा मकवानपुरको फेदिखोला गाउँपालिकाकासँग सम्झौता भएको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामा र कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवालीबीच मंगलबार नै कोषको कार्यालयमा सम्झौता भइसकेको छ ।

सम्झौता अनुसार अब भीमफेदी गाउँपालिकाले पहिलो वर्षका रुपमा यस वर्ष एक सय जना अनौपचारिक तथा स्वरोजगारको क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार त्यसका लागि गाउँ सभाले नीति तथा कार्यक्रम पारित गरेर बजेट पनि सुनिश्चित गरिसकेको र श्रम डेस्क स्थापना गर्ने तयारी भइसकेको छ ।

कोषका अनुसार अब सम्झौताअनुसार श्रमिक सूचीकरण भएपछि कार्यान्वयनमा जाने छ । फेदीखोला गाउँपालिकासँग सम्झौता भएसँगै अन्य पालिका पनि कोषमा आबद्ध हुनका लागि बाटो खुला भएको कोषका उपनिर्देशक एवम सहायक प्रवक्ता रोहित रोग्मीले जानकारी दिए । यस्तै फेदिखोला गाउँपालिकाका अध्यक्ष सुवेदीले पहिलो चरणमा गाउँपालिकाले सञ्चालन गरेको मजदुर सञ्चित कोषमा आवद्ध ७५० जना अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएको बताए । उनले आफ्नो पालिकाले पहिलो पटक सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्न पाउदाँ हर्षित भएको पनि बताएका छन् ।

यसैबीच आज अनौपचारिक तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा अधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्ने औपचारिक समारोहमा सरोकारवालाले फेदिखोला गाउँपालिका र भीमफेदी गाउँपालिकालाई बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् । धन्यवाद दिनेमा प्रधानमन्त्री ‘प्रचण्ड’, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष विनोद श्रेष्ठ रहेका छन् । (नेपालप्रेस)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*