ढाडको बांगोपनको उपचार नगरे फोक्सो र मुटुमा समस्या !

बकैया दर्पण संवाददाता
१७ श्रावण २०८०, बुधबार १६:१९

मकवानपुर । ढाड बांगिने समस्या १६ वर्षमुनिका बच्चामा बढी देखिने विभिन्न अध्ययनले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बांगिन्छ । २० डिग्रीभन्दा माथिको ढाड बांगिएको छ भने त्यसले समस्या दिने चिकित्सकले बताउँदै आएका छन् ।

१० वर्षको उमेरपछि धेरैजसो बालिकामा यो समस्या देखिने गरेको छ । ढाडको बांगोपनको समस्या सात बालिका बराबर एक बालकमा देखिन्छ । ढाडको बांगोपनको उपचार नेपालमा सर्वसुलभ छ । आम नागरिक भने यसबारे अनभिज्ञ छन् ।

ढाड बांगिने रोगसँग केन्द्रित रहेर एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा। विनोद बिजुक्छेसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश–

के कारणले ढाड बांगो हुन्छ ?

एउटा त जन्मजात ढाड बांगो हुन्छ । अर्को किसिमको बांगोपनको कारण थाहा नहुने खालको हुन्छ । जसलाई इडियोप्याथी भन्छौं । त्यो धेरैजसो १० वर्षको उमेरपछि बालिकालाई देखिन्छ । यो चाहिँ छोराभन्दा छोरीलाई बढी देखिन्छ । सातजना छोरीमा देखियो भने एकजना छोरामा देखिन्छ । कारण ठ्याक्कै के हो भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन ।

ढाड बांगो भएको समस्याको उपचार सम्भव छ भन्ने कुरा नेपालमा धेरै मानिसलाई थाहा छैन । त्यसैले उनीहरू उपचार नगराई बसिरहेका हुन्छन् । यसको उपचार सम्भव छ । समयमा उपचार गरियो भने भविष्यमा आउने समस्याबाट बचाउन सकिन्छ ।

ढाडको बांगोपनको उपचार समयमै नगरे फोक्सो र मुटुमा समस्या आउन सक्छ । सानो उमेरमै अक्सिजनको मात्रा धेरै चाहिने भयो भने के हुन्छ ? एकछिन हिँड्दा पनि स्वाँस्वाँ हुन्छ । ती कुरा हामीले वेलैमा पत्ता लगाएर समयमै उपचार गर्नसक्यौं भने उसको जीवन सामान्य बनाउन सक्छौं ।

ढाडको बांगोपन भएको कसरी थाहा पाउन सकिन्छ ?

सबैभन्दा सामान्य उपाय भनेको हातले भुईं छुन कोसिस गरेजस्तै घुँडालाई सिधा राखेर बच्चालाई हात जोडेर निहुरिन भन्नुपर्छ । विद्यालयमा शिक्षकहरू वा आमाबुबाले घरमा हेरे पनि हुन्छ । त्यसरी हेर्दाखेरी ढाडको एकातिरको लेभल अलिकति माथि र अर्कोतिरको लेभल अलिकति तल भएको देखिन सक्छ । त्यसलाई हामीले रिभर्म वा लम्बर हम्प भनेर भन्छौं । त्यो करङ नै रोटेट भएर एउटा तल एउटा माथि आएको देखिन्छ ।

त्यो चाहिँ सबैभन्दा सरल उपाय हो । घरघरमा अथवा स्कुल स्कुलमा गर्न सकिन्छ । बांगोपन देखिएको शंका लाग्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । त्यसपछि हामीले एक्सरे गरेर हेर्छौं । एक्सरेले क्लियर गर्छ ।

उपचार कत्तिको खर्चिलो छ ?

हाम्रो एशोसिएशनमा दर्तावाल चिकित्सक झन्डै एक सयजना हुनुहुन्छ । त्यो बाहेक दर्ता नभएका झन्डै १५ जना हुनुहुन्छ । उहाँहरू सबै विज्ञ हुनुहुन्छ । हामीले एक्सरे गरेर हेरिसकेपछि बांगोपन कति डिग्री रहेछ भनेर नाप्छौँ । यदि २५ डिग्रीभन्दा कम छ भने केही पनि गर्नुपर्दैन । हामीले निरीक्षण मात्रै गर्ने भनेर भन्छौँ। ६–६ महिना वा वर्षमा फलोअप गर्छौं ।

बांगोपन २५ देखि ४० डिग्री छ भने पेटी दिन्छौँ । त्यसलाई प्रेस भनेर भन्छौं । यदि बांगोपना ४० डिग्रीभन्दा बढी छ भने अप्रेशन गर्नुपर्छ भनेर भन्छौं । जे उपचार गरे पनि मुख्य कुरा मेरुदण्ड सन्तुलित हुनुपर्‍यो। हामी उभिँदाखेरी टाउकोको लेभल कम्मरको बीचमा पर्नुपर्‍यो। यदि बांगोपन धेरै छ भने अप्रेशन गर्छौं ।

​अप्रेशन गर्दा रडहरू लगाउनुपर्छ । रड विदेशबाट मगाउनुपर्छ। यो अलिकति महँगो पर्छ । विदेशमा उपचार गर्ने खर्चभन्दा झन्डै झन्डै आधाभन्दा पनि कम खर्चमा उपचार हुन्छ ।

कुन उमेर समूहमा बढी देखिन्छ ?

यो धेरैजसो बच्चामा देखिन्छ । आमाबुबाले तेल लगाउन शुरु गरिसकेपछि ढाड बांगो भएको देखिन्छ । यो चाहिँ एक्सरे हेरेर हड्डी चारकुने बन्नुपर्ने नबनेर तीनकुने बनेको हुन्छ । इडियोप्याथिक १० वर्षको उमेरपछि देखिन्छ । बच्चाहरू आफैँले नोटिस गरेका हुँदैनन् । आमाबुवाले नोटिस गर्नुपर्छ ।

कहिलेकाहीँ लुगा लगाएको फिटिङ हुँदैन । त्यसपछि थाहा हुन्छ । कहिलेकाहीँ शिक्षक र साथीहरूले थाहा पाउँछन् । फिटिङ नै भएन भन्छन् । चेक गरेर हेर्‍यो भने बांगोपन रहेछ भन्ने थाहा हुन्छ । हामीले स्कुल स्क्रिनिङ प्रोग्राम भनेर पनि गरेका थियौं। स्कुलमा बांगोपन भएका बच्चा छन् कि छैनन् भनेर पत्ता लगाउन स्कुल स्कुलमा गएर बच्चालाई जाँच्थ्यौँ ।

ढाडको बांगोपन उपचार नेपालमा सम्भव छ ?

ढाडको बांगोपनको उपचार नेपालमा सम्भव छ। आजभन्दा १४–१५ वर्षअघि प्रविधिको विकास भएको थिएन। विषयविज्ञ पनि थिएनन् । विषयविज्ञहरू उपलब्ध हुँदै गए, उनीहरूले आज आएर ढाडको कुनै पनि समस्या विशेष गरेर ढाडको बांगोपन, ढाडको चोटपटक, नसा च्यापिएको अवस्था, हातगोडा नचलेको लगायतको उपचार गर्न नेपालमा सम्भव छ ।

प्रविधिमा युरोप अमेरिकामा जति अघि पुग्न नसके पनि त्यो प्रविधि अनुसार उनीहरूको खर्च पनि एकदमै धेरै छ । हामीले जुन प्रविधि र विशेषज्ञले नेपालमा सुविधा दिइरहेका छौं । विश्वका राम्रो हस्पिटलमा जस्तो परिणाम आइरहेको छ, त्यो हामीले पनि दिनसक्छौं र दिइरहेका छौं ।

सरकारको भूमिकालाई कसरी लिनुहुन्छ ?

सरकारले विभिन्न किसिमका स्वास्थ्य नीति त ल्याइरहेको छ । ढाडमा चोट लागेको, हेड इन्जुरी सम्बन्धी उपचारमा सरकारले सहयोग गरिरहेको छ । स्पाइन भनेको शरीरको त पिलर हो नि । यदि मेरुदण्ड बलियो भए मात्रै कुनै पनि मान्छे आफ्नो काममा अघि बढ्न सफल हुन्छ ।

स्कोलीओसिस सर्जरीका लागि सरकारले अहिलेसम्म केही सहयोग त गरेको छैन । तर ढाडमा चोट लागेकालाई सरकारले एक लाख रुपैयाँसम्म बिरामीलाई सहयोग गर्ने गरेको छ । हातगोडा नचल्ने नै भएको छ भने महिनाको पाँच हजार रुपैयाँ जति भत्ता पनि दिने गरेको छ ।

ढाडको बांगोपन हुन नदिन के गर्नुपर्छ ?

जन्मजात बांगोपन हुनसक्छ । आमाको पेटमा हुँदाखेरी नै जुन हिसाबमा हड्डी बन्नुपर्ने हो त्यो नबन्न पनि सक्छ । इडियोप्याथिक (कारण नै थाहा नभएर बांगोपन हुने) ले पनि हुनसक्छ ।

चोटपटक लागेर पनि ढाड बांगो हुनसक्छ । चोटपटक लाग्नबाट बच्ने उपाय अपनाउनु पर्छ। ट्राफिक नियम पालना गरियो भने चोटपटकबाट बच्न सकिन्छ । रूख चढ्दा ख्याल गर्नुपर्छ । ढाडमा केही समस्या भएको छ भने र बांगोपन हुनसक्ने देखिएको छ भने समयमै उपचार गराउनुपर्छ । (थाहाखबर)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*