बाढीपहिरोले पाल्पाको कचलमा सात घर विस्थापित

बकैया दर्पण संवाददाता
१५ श्रावण २०८०, सोमबार १३:४०

मकवानपुर । केही दिनदेखि परेको वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१, कचलका सात घरपरिवार विस्थापित भएका छन् । कचलको विभिन्न स्थानका सात घरपरिवार पहिरोका कारण विस्थापित बनेका हुन् ।

घर पहिरोले बगाएपछि स्थानीय डिलबहादुर बगालेको परिवार विस्थापित भएको कचलका वडाध्यक्ष भुवनसिंह चिदीले जानकारी दिनुभयो । यस्तै पार्वती अर्घाली, भगवती अर्गाली, रामबहादुर अर्गाली, लीलाकुमारी राना, लालबहादुर झाँक्री, मोहन झाँक्रीको घर जोखिममा रहेको उहाँले बताउनुभयो ।

यस्तै, कचलको धन्सार गाउँको सुस्मा बगालेको परिवार पनि विस्थापित भएको छ । बाढी पहिरोबाट कचलको ५० घर बढी परिवार प्रभावित बनेका छन् । कचलको पाँचचोट र ओखलढुङ्गा गाउँसमेत बाढी र पहिरोले प्रभावित बनेको छ । यस्तै, कचलको बुढीकोट, ठूलीउदाङ्, कुँडापानी पनि पहिरोको जोखिममा वडाअध्यक्ष चिदीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बाढी पहिरोले पालिकाले निर्माण गरेका भौतिक संरचना, व्यक्तिगत घर, सार्वजनिक सम्पत्तिमा क्षति पुगेको बताउनुभयो । उहाँले स्थलगत अध्ययन गरेर क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

बाढी पहिरोका कारण एक सातादेखि कचल गाउँपालिकाको केन्द्रदेखि सम्पर्कविच्छेद बनेको स्थानीय हिमाल गाहाले बताउनुभयो । बाटोमा सवारीसाधन सञ्चालन गर्न नसक्ने भएपछि स्थानीय बासिन्दा तीनघण्टा पैदलयात्रा गरेर पालिकाको केन्द्र दोभानसम्म आउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*