२२ परिवारको पहिरोको त्रासले भयो विद्यालयमा बास

बकैया दर्पण संवाददाता
११ श्रावण २०८०, बिहीबार १२:५४

मकवनपुर । केही दिनयता सुदूरपश्चिमका पहाडी जिल्लामा निरन्तरजसो वर्षा भइरहेको छ । वर्षाले पहिरो आएपछि यहाँका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

घरमाथिबाट पहिरो आउने त्रासले दुई गाउँका २२ परिवारको बास यतिबेला विद्यालयमा रहेको छ । डडेलधुराको आलिताल गाउँपालिका–१ का दुई गाउँका स्थानीय पहिरोको त्रासले विद्यालय भवनमा रात कटाइरहेका छन् । आलिताल–१ को मालागाउँ र भोकागाउँका स्थानीय विद्यालयको भवनमा रात बिताइरहेका हुन् ।

मालागाउँ र भोकागाउँमा बसोबास गर्ने २२ परिवार नजिकैको जनज्योति आधारभूत विद्यालय सियलामा बसिरहेको वडा नम्बर १ का अध्यक्ष यज्ञबहादुर देउवाले जानकारी दिए । एनले भने, ‘पहिरोको उच्च जोखिम भएको क्षेत्रमा बस्ने २ गाउँका जनतालाई हामीले विद्यालयमा बसाएका छौं।’

बस्तीमा वर्षाका कारण गाउँ माथिबाट पहिरो झरिरहेकाले ज्यान सुरक्षाका लागि स्थानीय प्रहरी चौकी र जनप्रतिनिधिको सहयोगमा नजिकै रहेको विद्यालयमा सारिएको हो । उनीहरू साउन ८ गते साँझदेखि सो विद्यालय बसिरहेका हुन् । ढुंगा खसिरहेकाले उद्धारका लागि विद्यालयमा राखिएको बताइएको छ ।

२२ परिवारका १२८ जनालाई राहत स्वरूप चामल, दाल, तेल, तरकारी नुनलगायत खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष देउवाले बताए । आलिताल गाउँपालिका र वडा कार्यालयको तर्फबाट पहिलो चरणको खाद्यान्न सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष जगत पार्कीले बताए ।

उनले भने, ‘जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारेका छौं, राहतको व्यवस्था पनि गरेका छौं । पुरानै समस्या हो उनीहरुको समाधान गर्न धेरै प्रयास गरिएको छ ।’

उक्त गाउँमा पहिरोको उच्च जोखिम रहेकाले समयमै परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । वडाध्यक्ष देउवाले पहिरो पीडितहरूलाई आवश्यक थप राहतका लागि सहयोग गर्न सरोकारवाला सबै निकायलाई अपिल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*