दक्षिण कोरियाका श्रमिक एनआरएनए अध्यक्ष पदको उम्मेदवार

बकैया दर्पण संवाददाता
११ श्रावण २०८०, बिहीबार १०:२९

मकवानपुर । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नवौँ राष्ट्रिय महाधिवेशनका लागि श्रमिक भिसामा रहेका संजिव कुमार राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यही साउन १३ र १४ गते (जुलाई २९ र ३० तारिक) हुने महाधिवेशनमा एनआरएनए आठौं कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका राईले उम्मेदवारी घोषणा गरेका हुन् ।

उदयपुर स्थायी घर भई हाल श्रमिकका रुपमा कोरियामा रहेका राईको उम्मेदवारीलाई श्रमिकै नेतृत्वको रुपमा हेरिएको छ ।
निर्वाचन नजिकिएसँगै उनले चुनावी प्यानल समेत घोषणा गरेका छन् । उनको प्यानलमा उपाध्यक्ष पदका उम्मेदवार सुनिल कन्दङ्वा लिम्बु छन् । त्यस्तै उपाध्यक्ष (महिला) पदका लागि गंगा खतिवडा उम्मेदवार छिन् ।

सो प्यानलबाट महासचिव पदमा चितवन स्थायी घर भई हाल कोरिया रहेका अनित थपलिया उम्मेदवार रहेका छन् । सचिव पदमा सोनाम शेर्पा, युवा संयोजक पदमा नविन्द्रराज नापित र महिला संयोजक पदमा विष्णु पाण्डे बञ्जाडे उम्मेदवार छन् ।
त्यस्तै सह–कोषाध्यक्ष पदमा मदन गौतम, मंगल प्र योङ्हाङ लिम्बु र विष्णु प्रसाद रकाल उम्मेदवार रहेका छन् । आइसीसी सदस्य पदमा भने गोरखा स्थायी घर भई हाल श्रमिकका रुपमा दक्षिण कोरियामा रहेका बुद्धिप्रसाद नेपाल उम्मेदवार छन् ।
तु खबरसंग कुराकानी गर्दै उम्मेवार राईले अग्रजको सल्लाह सुझाव ग्रहण गर्दै विद्यार्थी, श्रमिक तथा मजदुर, व्यवसायिक लगायत विभिन्न भिसामा कोरियामा रहनुभएका नेपालीहरुको हितका लागि आफु अहोरात्र लागि पर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष हुँदा पनि तत्कालिन कार्यसमितिले प्रवासमा रहेका नेपालीहरुको हित प्रवद्र्धनका लागि काम गरेको स्मरण गर्दै आगामी दिनमा प्रवाससँगै नेपाली गाउँघरका समस्या समाधान गर्न, समाज रुपान्तरणमा सघाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

आफु पनि श्रमिक भिसामा रहेको बताउँदै उनले आफुलाई विद्यार्थी मजदुर तथा अन्य सबै भिसामा रहेकाहरुको साथ सहयोग एवम् माया रहने बताए । त्रिभुवन विश्वविद्यालयबाट विज्ञान र प्रविधि विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका राई नीति निर्माण तथा कार्यान्वयनका सवालमा अनुभवी छन् ।

त्यस्तै महासचिव पदका उम्मेदवार थपलियाले राई नेतृत्व नै कोरियाको इतिहासमा पहिलो पटक श्रमिकको नेतृत्व हुने बताए । सामाजिक संघ संस्थामा प्रभावशाली उपस्थिति जनाएका एवम् बौद्धिक व्यक्तिको रुपमा ख्याती बटुलेका थपलियाले आफु पदमा हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि प्रवासी नेपालीहरुको हितका लागि काम गर्न तयार रहेको बताए ।

उनले आफुसहित राई नेतृत्वको प्यानललाई नै विजयी गराइदिन अपिलसमेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*