भर्खर खन्न सुरू गरिएको सिद्धबाबा सुरुङ मार्ग पहिरोले पुर्‍यो

बकैया दर्पण संवाददाता
९ श्रावण २०८०, मंगलवार १६:४१

मकवानपुर । सोमबार रातिदेखिको झरीपछि आएको पहिरोले बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङ प्वाइन्ट पुरेको छ । भर्खरै खन्न सुरू गरिएको सुरुङ मार्गको सिद्धबाबातर्फको मूल प्रवेशद्वार पहिरोले भत्काएको हो ।

सुरुङमार्गको मुख्य प्रवेशविन्दुमा पहिरो खसेको स्थानीय तोया लम्सालले जानकारी दिए । पहिरोका कारण सुरुङमार्गमा क्षति पुगेको परियोजनाका इन्जिजियर युधिस्थिर पन्थीले बताए । कुन भागमा कतिको क्षति भएको भन्ने विवरण भने तयार भएको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँमा सुरुङमार्गको काम अगाडि बढाएको थियो ।

मध्यवर्षामा नेपाली प्राविधिकरुले ढलान गर्न नहुने सुझावविपरीत परियोजनाले ४ दिन पहिले मात्र प्रवेशद्वारको ढलान गरेको थियो । एक हजार १२६ मिटर दूरी रहेको सुरुङमार्गको काम तीब्रगतिमा अगाडि बढिरहेका बेला पहिरोले मुख्यविन्दुमा क्षति पुगेको छ ।

सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई पहिरोले भत्काएपछि र पाल्पातर्फको रिपलाई यसअघिको पहिरोले पुरेपछि आयोजनाको खर्च बढेको छ । स्थानीयका अनुसार सुरुङको प्रस्थान विन्दुको माथिबाटै पहिरो खसेको छ भने लेदोले सबै पुरिएको छ ।

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयका इन्जिनियर सविता ज्ञवालीका अनुसार ठेकेदार कम्पनीलाई वर्षा लागिसकेकाले पहिले नै काम नगर्न सचेत बनाएपनि गरेकाले क्षति भएको र त्यो क्षति ठेकेदार आफैँले गर्नुपर्ने बताइन् ।

‘हामीले पहिले नै सचेत बनाएका थियौं, काम सुरू गरेपछि एउटा आकार पूरा गरेर छाड्ने भनेर पछिसम्म गरेको हो, केही दिनयता त काम भएको थिएन, तर अहिले पहिरोले क्षति पुरायो, खतरा पनि बढायो, यो खर्च ठेकेदारको हुन्छ, हामीले पब्लिकलाई असर र क्षति नहुने गरी काम गर्न भनेको छौं । वर्षामा टनेलको काम भएको छैन, वर्षामा काम नगर्न भनेका हौं,’ उनले भनिन् ।

सुरुङमार्गको विस्तृत परियोजना तयार नहुँदै ठेकेदारले काम थालेको थियो । तिनाउ गाउँपालिका(२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरेपनि अहिले रोकिएको थियो ।

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्ष अघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुरूप काम भए चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ ।

बुटवल(पाल्पा खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर दुरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युतको ड्याम माथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्ट लगायतका पूर्वतयारीका कामहरू फागुन दोस्रो हप्तादेखि सुरू भएको थियो । (नेपाल प्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*