करोडौं खर्चिएर बनाइएका भएपनि बर्सेनि बर्खामा ठप्प हुन्छन् मकवानपुरका ग्रामीण सडक, यात्रु पर्छन् मर्कामा

बकैया दर्पण संवाददाता
९ श्रावण २०८०, मंगलवार ११:३८

मकवानपुर । बाढीपहिरोका कारण मकवानपुरका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् ।

बिशेषगरी मकवानपुरका दश वटै स्थानीय तहका भित्री कच्ची सडकहरु सामान्य बाढी र पहिरो खस्दा पनि अबरुद्ध हुन थालेका छन् । पहिले गाउँमा बस, बटो लगायतका साना गाडीहरु टोल टोलमा पुग्ने भएपनि अहिले भने सञ्चालनमा समस्या भएको छ ।

मकवानपुरका दश वटै स्थानीय तहले भएका सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण प्राथमिकतामा पर्ने गरेकाले जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाको समयमा अवरुद्ध हुन्छन् । सडकमा खाल्डाखुल्डी हुनाका साथै हिलोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन् ।

मकवानपुरको बिशेषगरी राक्सिराङ, कैलाश, मनहरी, हेटौंडा उपमहानगरपालिकाका बिकट क्षेत्रहरु, मकवानपुरगढी, बागमती, बकैया, भीमफेदी, इन्द्रसरोवर, थाहा नगरपालिका क्षेत्रका भित्री सडकहरु अबरुद्ध हुन थालेको स्थानीयहरुले बताएका छन् ।

बर्षाको समयमा कच्ची सडक सञ्चालनमा कठिनाइ हुने गरेको र ओहोरदोहोर गर्नका लागि पनि निकै समस्या भोग्नुपरेको मकवानपुरगढीका मानबहादुर स्याङतान बताउँछन् । ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल सञ्चालन गर्न समस्या हुने गरेको भीमफेदी गाउँपालिकाका जनप्रतिनिधिहरु बताउँछन् । अहिले अनावश्यकरुपमा रकम खर्च गर्नुभन्दा वर्षायाम सकिएपछि सडक स्तरोन्नति गर्दा प्रभावकारी हुने भएकाले वर्षापछि मर्मत गर्ने तयारी रहेको जनप्रतिनिधिहरुले बताएका छन् ।

हिउँदयाममा उपभोक्ता समिति मार्फत यहाँका पालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी नचल्दा आवागमनमा सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ । उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएकाले वर्षामा खाल्डाखुल्डीका कारण गाडी गुड्ने अवस्थामा नभएको हेटौंडा–१९ का लालबहादुर थिङ बताउनुहुन्छ ।

एक दशक अगाडिसम्म यहाँका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो। बस्ती मोटरबाटोले जोडिएका थिएनन् । सदरमुकाम हेटौंडा बजार र गाउँपालिकाका बजारबाट गाउँ उक्लिन गोरेटो बाटोबाट जानुपर्ने बाध्यता थियो । तर, अहिले जिल्लाका सबै वडा तथा टोलटोलमा सडक पुगेको छ ।

स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा सडक परेको छ । र त्यही अनुसार काम पनि भएको छ । तर, वर्षायाम सुरु भएपछी सडकहरु अबरुद्ध हुने गरेका छन् ।
‘विना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकारात्मक असर पुर्‍याइरहेको स्थानीयहरुले बताएका छन् । स्थानीय तहले हरेक वर्ष सडक निर्माणका लागि करोडौँ बजेट खर्च गरे पनि सडक गुणस्तरीय नहुँदा स्थानीयले सास्ती भोग्नु परेको बताउँछन् ।  (जनपत्र)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*