सुन प्रकरणमा राजस्व अनुसन्धानले माग्यो प्रहरीसँग सहयोग

बकैया दर्पण संवाददाता
८ श्रावण २०८०, सोमबार १६:०९

मकवानपुर । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयको गेटबाट बरामद भएको १०० किलो सुन तस्करी र त्यससँग जोडिएका अन्य पक्षको अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ । विभागले सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीलाई पठाएको छ ।

मानव वेचविखन अनुसन्धान ब्यूरोमा रहेका उनलाई यो प्रकरणको अनुसन्धान नसकिएसम्मका लागि विभागसँग सम्वन्वयन गरी अनुसन्धान गर्ने जिम्मेबारी तोकिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

विभागले आफ्नै स्रोतबाट प्राप्त सूचनाका आधारमा छापा मार्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको सुन बरामद गरेको थियो । मोटरसाइकल तथा स्कुटरको डिस्क ब्रेकको सुमा मोरेर ल्याइएको अवस्थामा सुन फेला परेको थियो ।

सुन तस्करीमा गिरोह नै संलग्न रहेको र अन्य नेक्सस समेत पत्ता लगाउनुपर्ने भएपछि विभागले प्रहरीको सहयोग मागेको हो ।

यसअघि गृहमन्त्री नारायाणकाजी श्रेष्ठले विमानस्थलको अनुगमन गर्दै आवश्यक परेमा प्रहरीले अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । सुन प्रकरणमा धमाधम आरोपितहरु पक्राउ पर्न थालेपछि राजस्व अनुसन्धान विभागले प्रहरीमार्फत् थप अनुसन्धान गर्ने तयारी गरेको हो ।

सुन प्रकरणमा १ जना चिनियाँ र तिब्बती मुलका १ जना भारतीयसहित नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरुविरुद्ध अनुसन्धानका लागि उच्च अदालत पाटनबाट म्याद थप गरिएको छ । उनीहरुविरुद्ध अनुसन्धानका लागि सुरुमा १० दिनको म्याद थप भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*