ललिता निवास प्रकरणमा परेका आरोपीको निवेदनमा अन्तिम बहस हुँदै

बकैया दर्पण संवाददाता
३ श्रावण २०८०, बुधबार ११:५८

मकवानपुर । ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी दस्तखत तथा कागजात कीर्तेको आरोपमा पक्राउ परेका आरोपीहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ ।

बुधबार सरकारी पक्षले बहस सकेपछि सर्वोच्च अदालतले रिट निवेदनमा फैसला सुनाउनेछ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा सोमबारदेखि बहस भइरहेको छ ।

वहालवाला सचिव कृष्ण बहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्म प्रसाद गौतमले आफूहरुलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

वुधबार सरकारी पक्षसहित २०७९ सालमा दर्ता भएको रिटमाथि पनि सुनुवाई हुने छ । सर्वोच्चले यो विवादसँग सम्बन्ध देखिएका ६ थान मुद्दालाई साथै राखेर सुनुवाइ गरिरहेको छ । सँगै राखिएको निवेदनमा बन्दीसहित उत्प्रेषणको आदेश र भ्याकेटको निवेदन पनि पेसीमा रहेको छ ।

यसअघि केही आरोपीहरु २०७९ सालमा सर्वोच्चले जारी गरेको अन्तिम आदेशको आधारमा रिहा हुनुपर्ने माग गर्दै बन्दीको निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

वुधबार सरकारी पक्षले आफ्नो तर्कसहित बहसका क्रममा उठेका प्रश्न र न्यायाधीशको सोध्ने प्रंश्नको जवाफ दिनेछन्। उनीहरुको जवाफपछि १७ जनाले पक्राउ गर्न लागिएको भन्दै दायर गरेको निवेदनमा सुनुवाइ हुनेछ । यसको सुनुवाइपछि निवेदकका कानुन व्यवसायीहरुले जवाफी बहस गर्न पाउने छन् । सबै पक्षको बहस सकिएपछि इजलासले फैसला सुनाउने छ ।

सर्वोच्चले बन्दीको रोहमा र अनुसन्धानका लागि पक्राउ गर्नुपर्छ कि पर्दैन भनि व्याख्या गर्ने छ । सर्वोच्चले थुना बाहिर राखेर अनुसन्धान गर्नु भनेमा थुनामा रहेकाहरु रिहा हुने छन् । यदि सर्वोच्चले थुनामै राख्ने निर्णय सदर गरेमा भने उनीहरु मुद्दा दायर भएर थुनछेक बहस नभएसम्म थुनामा रहनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*