बेरोजगारीको पीडा,दैनिक २०११ जना विदेश जान्छन्

बकैया दर्पण संवाददाता
२ श्रावण २०८०, मंगलवार १२:५५

मकवानपुर ।  वैदेशिक रोजगारीको ३० वर्षे इतिहासमा गत आर्थिक वर्ष सबैभन्दा बढी युवा विदेशिएका छन् । सरकारले श्रमस्वीकृति दिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको तीन दशकमध्ये गत आवमा सबैभन्दा बढी श्रमिकले अनुमति लिएका हुन् ।

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले गत आर्थिक वर्षमा ७ लाख ७१ हजार ३ सय २७ युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएको जानकारी दिए । यो संख्या दैनिक दुई हजारभन्दा बढी हो । अघिल्लो आव २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो ।

अघिल्लोका तुलनामा गत आवमा १ लाख ४१ हजार २ सय ३७ अर्थात् २२ प्रतिशत बढी विदेश गएका छन् । विभागका अनुसार आव २०७७/०७८ मा १ लाख ६६ हजार ६९८ जना विदेश गएका थिए । विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न सुरु गरेको थियो । त्यसयता सबैभन्दा बढी गतवर्ष गएका छन् ।गत आवमा श्रमस्वीकृति संख्या अझै बढेको हो

श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुन परिमार्जन, श्रमस्वीकृति सेवा पूर्ण अनलाइन हुनु र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्नु आदिका कारण श्रमस्वीकृति लिनेको संख्या बढेको सम्बद्ध अधिकारीहरु बताउँछन् । स्वदेशमा काम नपाउनु र गन्तव्य देशमा कोभिड संक्रमणका कारण पछिल्ला दुई वर्ष श्रमिक अभाव भएका कारण पनि श्रमस्वीकृति लिनेको संख्या बढेको हो । श्रमस्वीकृति लिएका केहीमात्र कुनै कारणले विदेश नजाने भएपनि अधिकांश जाने गरेका छन् ।

समाजशास्त्री एवंश्रम रोजगार विज्ञ गणेश गुरुङ दुई वर्षसम्म वैदेशिक रोजगारीमा जान नपाएका युवा जान थालेकोले श्रमस्वीकृतिको संख्या बढेको बताउँछन् । ‘कोभिडका कारण विदेश जान नपाएर र त्यसका कारण श्रम गन्तव्यमा रोजगारी गुमाएर फर्केका ८० प्रतिशत युवा पुनः रोजगारीका लागि विदेश गएका कारण दुई वर्षयता श्रमस्वीकृति लिनेको संख्या बढेको हो,’ गुरुङले कारोबारसँग भने, ‘लामो समय विदेशी रोजगारदाता श्रमिकविहीन रहेको र कोभिडको प्रभाव कम भएपछि बढ्दो व्यवसाय घाटालाई पूरा गर्न लगानी र व्यवसाय बढाएका कारण पनि ठूलो संख्यामा श्रमिक माग गरे ।’

कोभिडको प्रभाव क्रमशः कम हुँदै गएपछि व्यवसाय विस्तार गर्दा श्रमिकको माग बढेको विज्ञको भनाइ छ । कोभिडमा आर्थिक अभावका कारण स्वदेशमा बन्द भएका कतिपय उद्योग पुनः सञ्चालनमा आउन नसक्नु पनि वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्नुको अर्को कारण हो । पछिल्लो समय भारतमा रोजगारी जाने युवासमेत रोजगारीमा लागि खाडी तथा मलेसिया जाने प्रवृत्ति बढेको गुरुङले बताए ।

‘विदेश जाने युवाको संख्या बढ्नु भनेको सरकारले आन्तरिक रोजगारी सिर्जना गर्न सञ्चालन गरेका कार्यक्रम असफल हुँदैछन् भन्ने संकेत हो,’ गुरुङले भने, ‘विकास निर्माणका कामसमेत नियमित हुन नसक्नुको परिणाम पनि श्रमयोग्य जनशक्ति पलायनको प्रमुख कारण हो ।’ श्रमस्वीकृति लिने श्रमिकको संख्या वृद्धि हुनुु नेपाल भित्रिने रेमिटेन्सका लागि भने सकारात्मक संकेत हो ।

विभागको काठमाडाैं कार्यालय ताहाचलले कोरोना संक्रमणदरमा कमी आएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको जनाएको छ । कार्यालयका अनुसार राजधानीसहित देशभरका ७ श्रम कार्यालयबाट श्रमस्वीकृति लिने व्यवस्था अनलाइनमार्पmत गरिएका कारण श्रमिकलाई सेवा लिन सहज भएको छ । (कारोबार दैनिकबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*