डेंगू संक्रमणको उच्च जोखिम बागमती प्रदेशमा

बकैया दर्पण संवाददाता
२८ असार २०८०, बिहीबार १२:३८

मकवानपुर । बागमती प्रदेशमा डेंगू रोग संक्रमण बढ्दै गएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मे (बैशाख १८–जेठ १७) मा २७ जनामा डेंगू संक्रमण भएकामा जुन (जेठ १८­–असार १५) महिनामा ११७ जनामा संक्रमण भएको छ ।

यी दुई महिनामा डेंगू रोग संक्रमण भएकाको संख्या मात्रै वृद्धि नभई डेंगू रोग संक्रमण भएका जिल्लाको संख्यासमेत वृद्धि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। रविन भुसालका अनुसार मे महिनामा रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर र ललितपुर गरी छ जिल्लामा डेंगू रोगी पहिचान भएकामा जुन महिनामा दोलखा र रामेछापबाहेकका ११ जिल्लामा डेंगू सङ्क्रमित भेटिएका छन् ।

यसैगरी, गत अप्रिलमा ५२ जनामा, मार्चमा २९ र फेब्रुअरीमा ३० जनामा डेंगू सङ्क्रमण भएको जानकारी उनले दिए । सन् २०२२ को जुलाईदेखि २०२३ को जनवरीसम्म बागमती प्रदेशमा ४२ हजार ४५९ जनामा डेंगू रोग सङ्क्रमण भएको पाइएको छ । सन् २०२२ को जुलाईदेखि २०२३ को जनवरीसम्म प्रदेशमा सबभन्दा बढी काठमाडौँ, ललितपुर, भक्तपुर र मकवानपुरमा डेंगू सङ्क्रमित फेला परेका थिए।

गत फेब्रुअरीदेखि जुलाईसम्ममा सबभन्दा बढी धादिङ जिल्लामा ७८ जनामा र त्यसपछि नुवाकोट जिल्लामा १४ जनामा र काठमाडौँ जिल्लामा ८ जनामा डेंगू रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ ।

पछिल्लो तथ्याङ्कले गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेंगू रोग सङ्क्रमणको उच्च जोखिम देखिएको छ । असार मध्यसम्म आइपुग्दा डेंगू रोग सङ्क्रमण भएका बिरामीको सङ्ख्याले पनि डेंगू रोगको स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए गत वर्ष जस्तै यस प्रदेशमा डेंगू रोगको सङ्क्रमणले महामारीको रूप लिने देखिएको हो ।

गत वर्ष डेंगू रोगबाट अति प्रभावित बागमती प्रदेशका पाँच जिल्लाका विभिन्न स्थानमा गरिएको किटजन्य रोग सार्ने परजीवीको निगरानीका लागि गरिएको अध्ययनले डेंगू रोगको सङ्क्रमणको जोखिम उच्च देखाएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको प्राविधिक सहयोगमा गरेको अध्ययनले महामारी फैलन नदिन तत्काल डेंगू रोग सङ्क्रमण गर्ने लामखुट्टेको लार्भा, प्युपा स्रोतमै नष्ट र नियन्त्रण गर्न जोड दिएको छ ।

केन्द्रले गरेको अध्ययनका क्रममा प्रदेशका विभिन्न पाँच स्थानमा ५४७ घरधुरी र पानी जम्मा भएका एक हजार ६२३ भाँडाको पानी जाँच गर्दा डेंगू पोजेटिभ न्यूनतम सीमाभन्दा बढी पाइएको थियो ।

प्रदेशका विभिन्न जिल्लामा गत वर्ष साउन र भदौमा डेंगू रोगको सङ्क्रमणले महामारीको रूप लिएपछि प्रदेशको स्वास्थ्य मन्त्रालयले अध्ययन, अनुसन्धान गर्ने जिम्मा केन्द्रलाई दिएको थियो ।

केन्द्रका सहायक इन्टोमोलोजिस्ट (किट वैज्ञानिक) दीपक शाहले वर्षाअगावै सुक्खा समयमा गरेको अध्ययनले यस प्रदेशमा अझै पनि डेङ्गु सङ्क्रमणको जोखिम रहेको जानकारी दिए । उनले भने, “अहिल्यै रोकथाम र नियन्त्रणका प्रयास सुरु नभए यसले गत वर्षभन्दा भयावह अवस्था निम्त्याउन सक्छ ।”

केन्द्रले काठमाडौं महानगरपालिका–१६, ललितपुर महानगरपालिका–५ र १४, मध्यपुर थिमि नगरपालिका–४, रत्ननगर नगरपालिका–१ र मकवानपुरको मनहरी गाउँपालिका–७ मा डेंगू रोगको अध्ययन सर्वेक्षण गरेको थियो ।

सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगू रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ । (गोर्खापत्र दैनिक)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*