यसपटक पनि हेटौंडामा डेंगीले लिन सक्छ महामारीको रूप

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार १२:१६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र यस वर्ष पनि डेंगीले महामारीको रूप लिन सक्ने देखिएको छ । अहिले पनि डेंगीका विरामीहरु देखा पर्न थालेका छन् । बिशेषगरी हेटौंडा उपमहानगरपालिकाका पानी जम्ने क्षेत्रभित्र यसको संक्रमण फैलने स्वास्थ्यकर्मीहरु बताउँछन् । डेंगीका वासस्थान नष्ट गर्नका लागि अहिले देखिनै स्थानीय सरकारले तयारी थाल्नुपर्ने अवस्था आएको छ ।

अहिलेको अवस्थामा डेंगीका विरामहरु हेटौंडा अस्पतालमा र निजी अस्पतालहरुमा फाट्टफुट्ट देखिने गरेको भएपनि अब बढ्न सक्ने आकलन गरिएको छ । डेंगी नियन्त्रण तथा रोकथामका लागि अघिल्लो वर्ष धेरै केसहरू देखिएका ठाउँमा वडा तथा टोल विकास समितिसित समन्वय गर्नुपर्ने अवस्था सृजना भएको छ ।

रगत अभाव हुन नदिन रेड क्रस सोसाइटीलाई सूचित पनि गर्नुपर्ने छ । मनसुनपछिको समयमा डेंगी संक्रमण बढ्न सुरु हुन्छ । गत वर्ष मंसिरसम्म डेंगीका धेरै केसहरू थिए । अघिल्लो वर्ष सरकारले डेंगी संक्रमणको रोकथाममा समयमा नै एक्सन नलिँदा धेरै व्यक्तिले ज्यान गुमाउन पुगे । तथ्यांक विश्लेषण गर्ने हो भने हेटौंडामा डेंगी फैलिने स्वरूप हेर्दा हरेक २–३ वर्षको अन्तरालमा डेंगीले प्रकोप लिएको देखिन्छ ।

डेंगीको नियन्त्रणका लागि अब तत्काल काम सुरु गरिने हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाई बताउनुहुन्छ । डेंगी नियन्त्रणका लागि संघीय सरकारले पनि बजेट पठाएको र त्यही अनुसार अब टोल टोलमा पुगेर जनचेतनाका कामसंगै यसको नियन्त्रणको प्रयास गरिने उहाँले बताउनुभयो ।

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । एक्कासि ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुाडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले डेंगुबाट बच्न सकिन्छ ।

डेंगी गराउने लामखुट्टेले घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थिर संग्लो पानीमा अन्डा फारेर वृद्धि विकास गर्छ र संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संत्रमण गराउने हुन्छ । डेंगी संक्रमणको नियन्त्रण गर्न आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुपर्ने विज्ञहरूको भनाइ छ । जलवायु परिवर्तन, तापक्रम, हृयुमिडिटी, लामखुट्टेको आनीबानी, यातायातको सुविधा, जनसंख्याको ओहोरदोहोरलगायत थुप्रै कारणले डेंगीको केस बढ्दै गएको विज्ञहरूको भनाइ छ ।  (जनपत्र)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*