ललिता निवास प्रकरणका दोषीलाई कारबाही हुनुपर्छः माधव नेपाल

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १२:५१

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा राखेको पत्रकार भेटमा उनले ललिता निवास प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सरकारी जग्गा हिनामिना प्रकरणमा जो सुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ । कारबाहीको भागिदार हुनुपर्छ ।’ उनले आफ्नो नाम पनि यस प्रकरणमा जोडिएको स्विकार्दै निर्णय गर्नेको नाम आउनु स्वाभाविक भएको बताए । नाम आउनेबित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए । ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्,’ उनले भने, ‘त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।

उनले ‘सिस्टम’ मा कुनै त्रुटि छ भने सच्याउनुपर्ने बताए । २०६६÷०६७ मा पेस भएको फाइल प्रधानमन्त्री निवासलाई विस्तार गर्दै अगाडि बढाउने योजना राम्रो लागेकाले काम अघि बढाउन निर्णय भएको उनले प्रस्ट पारे । ‘सरकारी र अन्य प्रकारको जग्गा कानुनसंवत् तरिकाले छुट्याएर मात्र काम अघि बढाउनु,’ उनले आफ्नो निर्णयमा लेखिएको व्यहोरा जानकारी गराउँदै भने । उनले यससँग जोडिएका, गिरोहका रुपमा रहेकालाई छाड्नुपर्ने अवस्था नरहेको बताए ।

यो वा त्यो प्रकरण नभई देशव्यापी सरकारी जग्गामा भएको हिनामिनाको छानबिन गर्नसमेत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले आग्रह गरिसकेको बताए ।‘नेपाल ट्रस्टको जग्गादेखि लिएर सरकारी जग्गाको हिनामिना भएको देखिएको छ,’ उनले भने, ‘यस्ता सबै जग्गाको छानबिन भएर कारबाही भयो भने बल्ल मान्छे डराउने अवस्था आउनेछ । होइन भने अवस्था अझ बिग्रिँदै जान्छ । राज्यको सबै निकायको हालत उस्तै भएकाले सुधार गर्दै अघि बढ्नु जरुरी छ ।’

ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हडप्न विभिन्न व्यक्तिको मिलेमतो रहेको अनुसन्धानबाट खुलिसकेको छ । ललिता निवास प्रकरणमात्र होइन, सबै क्षेत्रमा भएका बदमासीको छानबिनमा खुट्टा कमाउन नहुने सुझाव दिए । फरक प्रसंगमा उनले वर्तमान सरकार आवश्यकताका आधारमा बनेको बताए ।    (कान्तिपुर)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*