के यसपटक सडक कार्यालयले हेटौंडा बजार भत्काउँछ त ?

बकैया दर्पण संवाददाता
२५ असार २०८०, सोमबार १४:१५

मकवानपुर । डिभिजन सडक कार्यालय हेटौंडाले बिगतका वर्षहरुमा जस्तो यस पटक निकालेको सूचना अली फरक छ । यस पटकको सूचना सर्बोच्च अदालतको केही फैसलालाइ टेकिएको छ । केही भने पुरानै तरिकाले सूचना निकालीएको छ ।

विगतका वर्षहरुमा सडक डिभिजनको कार्यक्षेत्र त्रिभुवनराजपथ र पूर्व पस्चिम राजमार्गको क्षेत्रभरीमा पर्नेगरी एकै पटक सूचना निकालिएको थियो । तर, यस पटक भने हेटौंडाको रातोमाटे देखि रापती पुल सम्मको सडक विस्तार गर्ने कामलाई जोड दिइएको छ ।

बिगतका वर्षहरुमा सडक भत्काउने सूचना निकालीए पनि यस सडक बनाउनका लागि संघीय सरकारले बजेट छुट्याएको थिएन । तर, यस पटक संघीय सरकारले यस क्षेत्रमा सडक निर्माण गर्नका लागि बजेट पनि छुट्याएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेश कुमार यादवले बताउनुभयो ।

यो सूचना म्याद सकिए लगतै देखि बजार क्षेत्र भत्काउन सुरु गरिने उहाँले बताउनुभयो । बिगतका वर्षहरुमा के भयो भन्दा पनि यसपटक सडक विस्तार गर्नका लागि सबै तयारी रहेको उहाँ बताउनुहुन्छ ।

यता मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवाल भने सर्बोच्च अदालतको फैसलाको पनि अपब्याख्या गरेर सडक कार्यालयले सूचना निकालेको बताउनुहुन्छ । बिना मुआब्जा र क्षेतिपूर्ति नदिएर घर भत्काउन आएमा प्रतिकार गर्ने उहाँ बताउनुहुन्छ ।

यस पटक सडक बिस्तार गरेर नयाँ र फराकिलो सडक निर्माण गर्ने तयारीमा सडक कार्यालय रहेको छ । तर, चालु आर्थिक वर्षमानै हेटौंडाको रातोमाटे देखि बजार क्षेत्रमा समेत यही सडकमा कालोपत्रे थपिएको सडक फेरी भत्काउने सूचनाले सरकारी रकमको दुरुपयोग हुन गएको यहाका वासिन्दाहरु बताउँछन् ।

करोडौं रुपैयाँ खर्च गरेर यही सडकमा नाली निर्माण, सडकमा थप कालोपत्रे गरिएको छ । फेरी एक वर्ष नपुग्दै भत्काउने सूचनाले सरकारी रकम दुरुपयोग हुने देखिएको छ । तर, पहिलेका वर्षहरुमा भन्दा पनि यस वर्ष सडक विस्तार गर्ने योजना कार्यान्वयन तहमा जानेगरी आएको छ । सडक विस्तार गर्ने विषयमा पक्ष, विपक्षमा छलफल, अन्तरक्रिया, बजार बन्द, ज्ञापनपत्र बुझाउने कार्यक्रमहरु हुँदै आएका छन् ।

हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषयले चर्चा पाएसँगै हिजोआज दिनहुँ उक्त विषयमा छलफल र विरोधका कार्यक्रम हुन थालेका छन् । आइतबारमात्र सडक विस्तारको विषयलाई लिएर राजनीतिक दलहरुबीच छलफल भएको छ भने व्यवसायीहरूलाई साथमा लिएर उद्योग वाणिज्य संघले विरोधको कार्यक्रम गरेको छ । आइतबार मकवानपुरमा सक्रिय राजनीतिक दलहरू सडक विस्तारको पक्षमा उभिँदा व्यवसायीहरू मुआब्जा र क्षतिपूर्ति माग गर्दै विरोधमा उत्रिएका छन् ।    (जनपत्र)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*