मकवानपुरको हेटौँडा सबस्टेसनमा कुलमान घिसिङकाे अनुगमन

बकैया दर्पण संवाददाता
१४ जेष्ठ २०८०, आईतवार ०९:२८

मकवानपुर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौँडा उपमहानगरपालिका थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा हिजो अनुगमन गरी जानकारी लिनुभयो ।

गएको फागुन अन्तिम हप्ता पनि अनुगमन गरेका उहाँले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि असन्तुष्टि जनाउनुभएको छ । त्यतिबेला ठेकेदार कम्पनीहरुले आउँदाे असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएपछि घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिनुभएको छ ।

उहाँले सबस्टेसन निर्माणस्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरु सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरुलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिबाना तिराउने चेतावनी दिनुभयो । भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आज काठमाण्डौ आएर संयुक्त बैठक गर्न निर्देशन दिनुभयो ।

‘सबस्टेसन निर्माणको अनुगमनमा नियमित रुपमा आइरहेको छु, विगत दुई महिनामा केही काम गरेनौ,  सबस्टेसनको निर्माण तत्काल सम्पन्न गरी पूर्व–पश्चिममा थप विद्युत् प्रवाहका लागि हामीलाई चाप छ, सबस्टेसन तत्काल सञ्चालन गर्न सकेनौँ भने दैनिक रुपमा ४००–५०० मेगावाट विद्युत् खेर जान्छ, यसको सबै क्षतिपूर्ति तिराउँछौँ,’ उहाँले चेतावनी दिँदै भन्नुभयो ‘तुरुन्त काठमाण्डौ आएर संयुक्त बैठक गर्नू ।’

चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडेर बाँकी रहेको काम गर्न टेण्डरमार्फत् सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५मा ठेक्का सम्झौता भएको थियो ।

यही प्याकेजमा  सुनसरीको इनरुवामा पनि २२० केभीको सबस्टेस निर्माण पनि राखिएको छ । कोभिड–१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सबस्टेसनको निर्माण आउँदाे असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*