आज महावीर जयन्ती तथा अहिंसा दिवस

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७९, मंगलवार ०८:५४

मकवानपुर । आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्ष चैत शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै आएको छ ।

दुई हजार ६२२ वर्षअघि यसैदिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा महावीरको जन्म भएको थियो । उहाँले राजकीय सुखसुविधा त्यागेर ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको र १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् ।

महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष महावीर जयन्ती मनाउने गरिएको छ । महावीर जयन्तीका अवसरमा नेपाल जैन परिषद्ले जैन भवन कमलपोखरीमा अहिले साढे ९ बजे  कार्यक्रम गर्दैछ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*