राजस्व असुली नाजुक: चालु खर्च धान्न पनि ३१ अर्ब पुगेन

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार १३:४१

मकवानपुर । सरकारले चालु आर्थिक वर्षको फागुनसम्ममा गत वर्षभन्दा एक खर्ब ५ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ । सरकारले गत वर्षभन्दा यो वर्ष २ खर्ब ८३ अर्ब रुपैयाँ बढी राजस्व उठाउने लक्ष्य राखेकामा असुली उल्टै कम हुँदै आएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्ममा ५ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व असुली भएको छ । यो लक्ष्यको ४०.९८ प्रतिशत हो । चालु आवमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो ।

अर्कोतिर फागुनसम्मको चालु खर्च पनि राजस्व असुलीले धान्न सकेको छैन । फागुनसम्ममा सरकारको चालु खर्च ६ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । जबकी यही अवधिमा राजस्व असुली ५ खर्ब ७५ अर्ब रुपैयाँ मात्र छ । यो तथ्यांक हेर्दा सरकारलाई अहिलेसम्म चालु खर्च धान्न पनि ३१ अर्ब रुपैयाँ नपुगेको देखिन्छ ।

सरकारले गत वर्ष ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएकामा फागुनसम्म ६ खर्ब ८० अर्ब रुपैयाँ संकलन गरेको थियो । गत र चालु आवको राजस्व तुलना गर्दा यो वर्ष १ खर्ब ५ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको हो । प्रतिशतका आधारमा भन्दा गत वर्षको तुलनामा १६.६९ प्रतिशत कम राजस्व संकलन उठेको छ । गत वर्ष फागुनसम्ममा सरकारले लक्ष्यको ५७.६७ प्रतिशत राजस्व संकलन उठाएको थियो ।

अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख रितेश शाक्यले घरजग्गा, सेयर कारोबार र आयातमा लगाएको प्रतिबन्ध जस्ता कारणले चालु आवमा राजस्व संकलनको लक्ष्य फेला पार्न समस्या भएको बताए । यसपटक आन्तरिक उत्पादन कम भएका कारण पनि आन्तरिक राजस्व संकलनमा कमी आएको उनले जानकारी दिए । विगतका वर्षहरुमा भन्दा यो वर्ष आन्तरिक राजस्व करिब १० प्रतिशत कम भएको छ ।

यसैगरी घरजग्गा र सेयर कारोबार घट्दा करिब २०/२५ अर्ब राजस्वमा कमी आएको महाशाखा प्रमुख शाक्यले बताए । पछिल्लो समय चोरीपैठारी नियन्त्रणमा गरेको कडाइ र जग्गा कित्ताकाटमा सुधार आएको हुँदा राजस्व संकलन पनि केही सकारात्मक देखिएको उनको भनाइ छ । सरकारको चालु आर्थिक वर्षमा कर राजस्व शीर्षकमा १२ खर्ब ९५ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य छ । यो अवधिमा सरकारले कर राजस्व शीर्षकमा ५ खर्ब १८ अर्ब अर्थात् ४०.०७ प्रतिशत संकलन गरेको छ ।

यस्तै, गैरकरतर्फ चालु आवमा १ खर्ब ७ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा ५६ अर्ब रूपैयाँ असुली भएको छ । यो लक्ष्यको ५२.०४ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा अनुदान शीर्षकमा ५५ अर्ब ४५ करोड रूपैयाँ प्राप्त हुने लक्ष्य राखेको छ । फागुन अन्तिम दिनसम्म अनुदानको लक्ष्यको ८.६६ प्रतिशत प्राप्त भएको छ । अहिलेसम्म ४ अर्ब ८० करोड रूपैयाँ मात्र अनुदान आएको हो ।

महालेखाको तथ्यांकअनुसार फागुनको अन्तिम दिनसम्ममा पुँजीगत खर्च कुल बजेटको २२.०३ प्रतिशत पुगेको छ । चालु आवमा सरकारले पुँजीगत खर्च ३ खर्ब ८३ अर्ब रुपैयाँ गर्ने लक्ष्य राखेको थियो । चालु आव सकिन ४ महिनामात्र बाँकी हुँदा पुँजीगत खर्च ८३ अर्ब ८० करोड रुपैयाँ भएको छ । गत वर्ष सरकारले पुँजीगत बजेट ३ खर्ब ७८ अर्ब राखेको थियो । फागुनसम्ममा पुँजीगत खर्च २०.१६ प्रतिशत अर्थात् ७६ अर्ब २२ करोड रूपैयाँ भएको थियो ।

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रूपैयाँको बजेट ल्याएको थियो । यो वर्षको फागुन अन्तिमसम्म ७ खर्ब ७४ अर्ब रुपैयाँ खर्च भएको छ । प्रतिशतमा भन्दा यो कुल लक्ष्यको ४३.२३ प्रतिशत मात्र हो ।

सरकारले चालु खर्चमा यो वर्ष ११ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये फागुनको अन्तिम दिनसम्ममा ६ खर्ब ६ अर्ब रुपैयाँ खर्च गरेको छ । यो कुल लक्ष्यको ५१.२६ प्रतिशत हो । यसैगरी वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब खर्च गर्ने लक्ष्यमा ८५ अर्ब १५ करोड रूपैयाँ गरेको छ । यो लक्ष्यको ३६.९९ प्रतिशत हो । (कारोवार अनलाईन)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*