पोखरामा रात्रिकालीन उडान सुरु

बकैया दर्पण संवाददाता
२९ फाल्गुन २०७९, सोमबार १८:५४

मकवानपुर । पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ‘हब’ बनाएर बुद्ध एअरले चार वटा आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको हो ।

बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते रातिदेखि काठमाण्डाै, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट रात्रिकालीन उडान सुरु गरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि विश्राम पोखरामा भएको छ । यी जहाज बिहानै काठमाण्डौ, भद्रपुर, भैरहवा र नेपालगञ्जका लागि उड्ने गरेका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको सम्पर्क बढ्ने र आन्तरिक पर्यटन प्रवर्धन हुने नेपाल टुर एन्ड ट्राभल्स एजेन्ट नेपाल (नाट्टा) पोखराका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो । अब पर्यटकहरूले छिटो र आरामदायी यात्राका कारण हवाई यात्रालाई रोज्ने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पोखराका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । पर्यटनसँगै हवाई यातायातले जोडेका दुई सहरका स्थानीय उत्पादन प्रवर्धन गर्न टेवा पुग्ने उहाँकाे भनाइ छ ।

पोखराबाट भद्रपुर सिधा उडान बुद्ध एअरले अहिले थप गरेको हो भने अन्य क्षेत्रमा दिउँसाेमा हुँदै आएका उडानलाई रात्रिकालीन उडान गरेको हो ।

पोखरा बास बस्ने गरी विभिन्न गन्तव्यबाट यात्रुहरू पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान भएको झन्डै दुई महिनापछि रात्रिकालीन हवाई उडाए भएको हो । बुद्ध एअरले बेलुकाकाे समयमा पोखरा आई केही दिनको बसाइ तथा घुमफिरबाट एकाबिहानै गन्तव्यमा फर्कन सहज हुने बताएको छ ।

आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो । अहिले काठमाण्डाैबाट दिउँसाे ४ बजेपछि तीन वटा उडान राखिएको छ । यसैगरी पोखराबाट काठमाण्डाैकाे उडान बेलुकीसम्म राखिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित पर्यटन व्यवसायीहरू भद्रपुर पुगेर आसपासको क्षेत्रमा प्रचारप्रसार समेत गरेका छन् । पोखराबाट छिटै अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न व्यवसायीको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*