आज ग्याल्बो ल्होछार मनाइँदै, सार्वजनिक बिदा

बकैया दर्पण संवाददाता
९ फाल्गुन २०७९, मंगलवार ०९:१०

मकवानपुर । आज ग्याल्पो ल्होसार । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।

पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।

ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिनुभएको छ । ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत देश निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनेर राष्ट्रपति भण्डारीले कामना गर्नु भएको छ ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले ग्याल्पो ल्होसारले शेर्पा समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्नुका साथै नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गरेर राष्ट्रिय एकतालाई सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवम् समृद्धिको कामना गर्नु भएको छ । विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिने उहाँको भनाइ छ । ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*