पोखरा विमानस्थलमा तत्काल पश्चिमतर्फबाट जहाज अवतरण गर्न नदिन सिफारिस

बकैया दर्पण संवाददाता
४ फाल्गुन २०७९, बिहीबार १०:०८

मकवानपुर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ मा जहाज अवतरणको अनुमति दिनुअघि भिजुअल अप्रोचबारे विस्तृत अध्ययन गर्न दुर्घटना जाँच आयोगले सरकारलाई सिफारिस गरेको छ । प्रतिवेदनअनुसार पोखरा विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट भीएफआर (आँखाले हेरेर हुने ) उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ । आयोगको यो सिफारिससँगै तत्काललाई पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट जहाज अवतरण गर्न नपाइने भएको छ ।

गएको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनापछि छानबिन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे नेतृत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरिएको थियो ।

आयोगले हिजो छानबिनपछिको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । दुर्घटनाको समयमा भिजिबिलिटी ६ हजार मिटर थियो । भीएफआर उडान–अवतरणका लागि पाँच हजार मिटर भिजिबिलिटी भए पुग्छ । दुर्घटनामा मौसमको कारण नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि जहाज उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जहाजको बायाँतर्फको सिट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको पाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*