मकवानपुरमा थापा र डिनाको हार–जितको साँचो सिंहको हातमा, एमालेको मत जोगाए मात्रै थापा बलियो

बकैया दर्पण संवाददाता
२८ कार्तिक २०७९, सोमबार ११:३१

मकवानपुर । दिपक सिंह, अहिले मकवानपुरको राजनीतिमा चर्चामा छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको १ नम्बर क्षेत्रबाट उठेका सिंह राप्रपाका हुन् ।

१ नम्बर क्षेत्रमा स्वतन्त्रसहित १६ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये नेकपा एमालेका तर्फबाट राप्रपा नेपाल अध्यक्ष कमल थापा, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपाका सिंहको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । प्रभाव राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश थापाको पनि छ । थापालाई एमालेले सबै थोक दिएको छ । डिनालाई नेकपा माओवादी र एकीकृत समाजवादीको साथ छ । सिंह भने एक्लै छन् ।

कम्युनिष्टहरूको गढका रुपमा रहेको मकवानपुरमा राजसंस्था बोकेको राप्रपाको जनमत कमजोर छ । तर, दिपक सिंह यस्ता राजनीतिक पात्र हुन्, जसले पार्टीलाई पनि अचम्ममा पार्ने गरी गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा मत ल्याए । हेटौँडामा करिब ५–६ हजार मत रहेको आन्तरिक आंकलन राप्रपाको थियो । तर, सिंहले मेयरमा २० हजार ५ सय ३१ मत ल्याए ।

मत परिणाम हेर्दा एमाले र कांग्रेसले आफ्नो गढ भनेको वडामै सिंहले गठबन्धन र एमालेका उम्मेदवारलाई वडामै हराएका थिए । सिंहले ल्याएको मतले अहिले पनि हेटौँडाका चोकचोकमा चर्चा हुन्छ । सिंहले ल्याएको मतलाई एउटै कोणबाट विश्लेषण गरिन्छ । पुराना राजनीतिक दलका गतिविधि र नेताप्रति मतदाताहरूको वितृष्णा । मकवानपुरमा २०४६ सालको बहुदलपछि एमालेको रजगज चल्यो ।
२०६४ को संविधानसभा निर्वाचनमा सबै क्षेत्रमा माओवादी केन्द्रका सांसद बने । तर, परिवर्तनको मुद्दा सतहमा पुर्‍याएको माओवादी केन्द्रले पनि आफ्नो उपलब्धीलाई परिवर्तनसँग साट्न सकेन ।

२०७० को निर्वाचनमा पुरानै दलका उम्मेदवारहरू थिए । २०७० मा मकवानपुरबाट एमाले र कांग्रेसका उम्मेदवार फेरि निर्वाचित भए । पटक–पटकको निर्वाचनमा यही ठूला दलका पुरानै नेताहरूको हालीमुहाली देखिन्छ ।

समग्र जिल्ला र सदरमुकाम हेटौँडामा कुनै परिवर्तन नदेखिएपछि पुराना दल र नेताप्रतिको वितृष्णा ३० वैशाख २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा मतदाताहरूले देखाएको राप्रपा मकवानपुरका युवा नेता सन्दिप सापकोटा बताउँछन् । अप्रत्याशित मत ल्याएर चर्चामा पुगेका सिंह पुनः प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर स्थानीय तहमै अपनाएको रणनीति पुनः दोहोर्‍याएका छन् । उनी पुराना दल र नेताहरूप्रतिको वितृष्णालाई प्रमुख मुद्दा बनाएर निर्वाचनमा होमिएका छन् ।

१ नम्बर क्षेत्रमा १ लाख ५० हजार १ सय ५५ जना मतदाता छन् । जसमध्ये ७५ हजार २ सय २१ पुरुष, ७४ हजार ९ सय ३० महिला र अन्यमा चार जना मतदाता छन् । यस क्षेत्रमा पाँच वर्षको अवधिमा २५ हजार ३ सय ५६ मतदाता थपिएका छन् । २०७४ मा १ लाख २४ हजार ७ सय ९९ मतदाता रहेकोमा अहिले बढेर १ लाख ५० हजार १ सय ५५ पुगेको निर्वाचन आयोगको तथ्याङकमा उल्लेख छ । चुनाव जित्न बढेकै मत महत्वपूर्ण छ ।

प्रतिस्पर्धामा रहेका प्रमुख उम्मेदवारहरूले गत स्थानीय तहमा वडा अध्यक्षलाई प्राप्त मतका आधारमा मत विश्लेषणा गरेका छन् । मत विश्लेषणमा गठबन्धन १६ हजार १ सय ३४ मतले अगाडि रहेको देखाउँछ । १ नम्बर क्षेत्रमा डिनाले ५५ हजार १ सय ३५ मत ल्याउने विश्लेषण गरिएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय गौतमले जानकारी दिए । एमालेको मत ३९ हजार १ रहेको विश्लेषण गठबन्धनको छ । जसमा राप्रपा नेपालको मत जोडिएको छैन् ।
गठबन्धनले मत विश्लेषण गर्दा एमालेलाई मात्रै प्रमुख प्रतिस्पर्धीको रुपमा लिइएको छ । सिंहलाई तेस्रो प्रतिस्पर्धीका रुपमा हेरिएको मत विश्लेषणले देखाउँछ । तर, गठबन्धनकी डिना र एमालेबाट थापाको हार जित राप्रपाका सिंहले ल्याएको मतको आधारमा हुने देखिएको छ । डिनाको विश्लेषण सिंहले स्थानीय तहमा जस्तै एमालेको मत काट्छन र आफू विजयी हुनेछ । थापाको विश्लेषण सिंहले जति धेरै भोट ल्याए आफ्नो जित्ने सम्भावना त्यति रहनेछ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला ४५ देखि ५० हजार मत थापालाई आउने दाबी गर्छन् । एमालेको करिब ४० हजार मत र कमल थापाको व्यक्तिगतसँगै पार्टीको मतले थापालाई जित गराउने उनको दाबी छ । सिंहले एमालेको मत चोर्ने सम्भावना बढी रहे पनि गठबन्धनको मतलाई पनि उनले आफ्नो पक्षमा पार्ने देखिन्छ । जसकारण सिंहले कसको मत बढी चोर्छन् अहिले नै भन्न सकिँदैन । तर, डिना र थापाको हार जितको साँचो सिंहसँग छ ।

सिंहले हेटौँडाको मत ल्याए जस्तै बागमती र बकैया गाउँपालिकाको पनि मत बटुल्न सके डिना र थापा दुवै धरापमा पर्ने देखिन्छ ।

थापालाई सिंहले स्थानीय तह निर्वाचनमा जस्तो पुनः एमालेको मत पाउँदैनन् भन्ने विश्लेषण पनि गरिएको छ । यो विश्लेषण मिल्दा थापा सुरक्षित हुन्छन् । किन की १ नम्बर क्षेत्रमा गठबन्धनको शक्ति बरार एमाले देखिन्छ ।

२०७४ को चुनावमा बाम र लोकतान्त्रिक गठबन्धन थियो । कमल थापा कांग्रेसको समर्थनमा निर्वाचन लडेका थिए । गठबन्धनको कारण कुन पार्टीले कति मत ल्याए भन्न मुस्किल छ । तर, समानुपातिक मतलाई भने केही आधार मान्न सकिन्छ । २०७४ मा एमालेका कृष्ण प्रसाद दाहालले ल्याएको मत र समानुपातिकतर्फ एमाले र माओवादीले प्राप्त गरेको मतान्तार २०४ मात्रै छ । त्यसैलाई आधार मान्दा पनि गठबन्धनका लागि एमाले एक्लै भारी पर्ने देखिन्छ । थापालाई जितका लागि एमालेको मत जोगाए पुग्छ । राप्रपाबाट तान्न सकेको भोटले उनलाई मतान्तर बढाउन सहयोग पुर्‍याउँछ ।

२०७४ मा एमाले समानुपातिकतर्फ २८ हजार ८ सय ८४ मत ल्याउँदा कांग्रेस र माओवादीले क्रमशः १६ हजार ८ सय २२ र ११ हजार ५ सय ४३ ल्याएका थिए। त्यो कांग्रेस र माओवादीको मत जोड्दा २८ हजार ३ सय ६५ हुन्छ । अब त्यही मतमा नेकपा एसको मत जोड्दा गठबन्धनको मत हुन्छ । राप्रपा १५ हजार १ सय ७१, मालेले ३ सय १ मत ल्याउँदा अन्य पार्टीको २ सय मतको अँकडा पार नभएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
थापाले राप्रपाबाट ३० प्रतिशत मत मात्रै आफ्नो पक्षमा पार्नसके, सूर्य अर्थात एमालेको मत साढे ३३ हजार मत हुन पुग्छ ।  ‘सिंहलाई अरुले मत दिए पनि उनले निर्वाचन जित्दैनन् । जसकारण उनले सोचे जस्तो मत फेरि पाउँदैनन् । एमालेको मत केही तलमाथि परे पनि थापाले जित्नलाई आवश्यक मत एमालेबाट पाउने देखिन्छ,’ बर्तौलाले भने ।

१ नम्बर क्षेत्रमा गएको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा गठबन्धनकी डिना बलियो छिन् । यस क्षेत्रमा बागमती, बकैया, हेटौंडाको १५ र मकवानपुरगढीको १ देखि ४ गरी कुल ४० वडा पर्दछन् । उक्त क्षेत्रमा स्थानीय निर्वाचनमा राप्रपा नेपालले समर्थन गरेको एमालेले सबैभन्दा बढी १५ वटा वडा जित्यो तर, कुनै पालिका जित्न सकेन । कांग्रेसले दुई पालिकासहित १२ वटा वडा जित्यो । त्यस्तै माओवादीले एक पालिका सहित १२ वडा जित्दा नेकपा एसले एक पालिका र एक वडामात्रै जित्यो ।
स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धन थियो । एकल रुपमा हेर्दा एमाले बलियो देखिन्छ । एमालेको वडाध्यक्षका उम्मेदवारले पाएको मत ३८ हजार ६५ छ । उता कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ७२ मत प्राप्त गर्दा माओवादीले १६ हजार १ सय १७ र एकीकृत समाजवादीले ३ हजार २ सय ८३ मत ल्याएको छ । राप्रपाले ४ हजार २८ मत ल्याएको आयोगको तथ्यांकमा छ ।

डिनाको राजनीतिक भूगोल २ नम्बर क्षेत्र हो । गठबन्धनका विरोध खतिवडाले २ नम्बरबाट टिकट पाएपछि उनी १ नम्बर पुगिन् । २ नम्बर क्षेत्रमा डिना नपुगेको मतदाताको घर कमै होला । तर, १ नम्बर क्षेत्रमा उनको त्यस्तो छैन् । सिंहको अवस्था पनि डिनाकै हाराहारीमा छ । तर, १ नम्बरमा हरेक मतदाताको आँगनसम्म भए पनि थापा पुगेका छन् । उनले जति पटक निर्वाचन लडे १ नम्बर क्षेत्र कहिल्यै छोडेनन् ।

डिनाले प्रत्यक्ष निर्वाचन जितेको रेकर्ड छैन । डिना २०४८, २०५१, २०५६ र २०७४ को चुनावमा पराजित भइन् । ३ पटक त विरोध खतिवडासँग मात्रै हारिन् । उता सिंहसँग पनि पराजितको मात्रै अनुभव छ । उनी २०५४, २०५६, २०७० र २०७९ सालमा चुनावमा उत्रिएका थिए । थापा २०४६ को बहुदल स्थापनापछि पाँच पटक चुनाव लडे । एकपटक ०५१ सालको निर्वाचनमा मात्रै जितेको रेकर्ड छ । चारपटक एमालेकै कृष्ण दाहालसँग पराजित भए । शिलापत्रबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*