लक्ष्य अनुसार राजस्व उठाउन बिरगञ्ज भन्सार असफल

बकैया दर्पण संवाददाता
५ कार्तिक २०७९, शनिबार १३:२४

मकवानपुर । देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष २०७९/०८० को लगातार तेस्रो महिनामा लक्ष्य अनुसार राजस्व उठाउन असफल भएको छ ।

गत असोज मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन नसकेपछि ३ महिनासम्म लक्ष्य प्राप्तिमा धर्मराएको हो । कार्यालयले निकालेको तथ्यांक अनुसार यस कार्यालयले चालू आर्थिक वर्षको असोज महिनामा १२ अर्ब ४९ करोड ३८ लाख ८३ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको ५७.१ प्रतिशत हो । भन्सार विभागबाट असोज महिना २१ अर्ब ८८ करोड ३३ लाख राजस्व संकलनको लक्ष्य पाएको थियो । यस आँकडाअनुसार असोज महिनामा लक्ष्य भन्दा ४२.९ प्रतिशत कम राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको असोज महिनामा भने वीरगञ्ज भन्सारले १ सय २०.५ प्रतिशत राजस्व संकलन गरेको थियो । साउन र भदौमा पनि वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य पूरा गर्न सकेको थिएन । साउनमा वीरगञ्ज भन्सारले लक्ष्य भन्दा १४.५ प्रतिशत कम राजस्व संकलन गरेको थियो । यो महिनामा भन्सार विभागबाट पाएको कुल १५ अर्ब २० करोड ७ लाख ५५ हजार लक्ष्य पाएकोमा जम्मा १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार मात्रै राजस्व संकलन गरेको थियो । जुन लक्ष्यको ८५.५ प्रतिशत मात्रै थियो ।

यसैगरी, भदौ महिना विभागबाट १९ अर्ब २९ करोड ४५ लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा जम्मा १४ अर्ब १४ करोड २५ लाख १३ हजार मात्रै राजस्व संकलन गरेको थियो । देशकै प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सारले लगातार ३ महिनामा लक्ष्यअनुसार राजस्व उठाउन नसक्नुको मुख्य कारण सरकारले पछिल्लो समय आयातमा गरेको कडाई भएको छ । पछिल्लो समय सरकारले गाडी, मोटरसाइकल, महँगा मोबाइल र मदिरा लगायतका वस्तुहरूमा निरन्तर बन्देज लगाएको छ ।

त्यस्तै वीरगञ्ज नाका भएर ३ महिनाको अवधिमा निर्यात ६६.१ प्रतिशतले घटेको छ । यस अवधिमा नेपालले यो नाका भएर १० अर्ब ७१ करोड ९८ लाख बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको यही अवधिमा नेपालले ३१ अर्ब ६६ करोड ७६ लाख ४२ हजार बराबरको वस्तु निर्यात गरेको थियो ।

चालू आर्थिक वर्षको पहिलो ३ महिनामा यो नाका भएर नेपाललाई हुने व्यापार घाटा १.८ प्रतिशतले बढेको छ । जुन १ खर्ब ३७ अर्ब ६४ करोड ५६ लाख बराबर हुन आउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*