नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

बकैया दर्पण संवाददाता
७ श्रावण २०७९, शनिबार १०:४४

मकवानपुर । प्रतिनिधिसभाले लगातार ७ घण्टा छलफल गरेर नागरिकता विधेयक पारित गरेको छ । शुक्रबार दिउँसो १ बजे सुरु भएको बैठक निरन्तर ८ बजेसम्म छलफल गरी विधेयक पारित गरिएको हो ।
छलफलमाथि उठेका प्रश्नको गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले स्वीकृत भएको घोषणा गरे। विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी थिए ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले आमाबुबा दुवै नेपाली भए पनि सन्तानले नागरिकता पाउन नसक्दा लाखौँ युवाले राज्यको सेवा सुविधाबाट वञ्चित हुन पुगेको भन्दै यो विधेयक ल्याइएको दाबी गर्नुभयो ।
सभामुख सापकोटाले अरू कार्यसूची हटाएर गृहमन्त्री बालकृष्ण खाँणलाई ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न रुलिङ गरेका गर्नुभएको थियो ।
सो प्रस्ताव स्वीकृत भएपछि लगातार तीन घण्टामा २७ संशोधनकर्ता सांसदले आफ्नो धारणा राखेका थिए । त्यसपछि अन्य सांसदले छलफलमा भाग लिएका थिए । नागरिकता विधेयकमा ४५ सांसदले एकल र समूहगत गरी ९४ बुँदामा संशोधन दर्ता गराएका थिए। ती सबै बहुमतले अस्वीकृत भए ।
प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रियसभामा छलफल गरिनेछ। त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।

सांसदहरूबीचको सवाल-जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकताका विषयमा आपत्ति जनाएको छ । नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई भोलिपल्टै नागरिकता दिन सकिने अहिलेको विधेयकको दफामाथि एमाले सांसदहरूले आपत्ति जनाउनुभयो ।
आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गर्दै छलफलमा भाग लिएका एमाले सांसद डा। सूर्यप्रसाद पाठकले छिमेकी मुलुक भारतमा नेपाली चेली विवाह गरेर जाँदा ७ वर्षपछि नागरिकता पाउने तर यहाँ बिहे गरेको भोलिपल्टै दिँदा के हुन्छ रु भनेर प्रश्न गर्नुभयो । छिमेकी देश लगायतसँग छलफल गरेर नागरिकता विधेयकमा एकरूपता ल्याउनुपर्नेमा उहाँको जोड थियो ।
एमाले सांसद शान्ता चौधरीले यसअघि संसदीय समितिमा विदेशी महिला आउँदा बिहे गरेको धेरै वर्षपछि मात्रै नागरिकता दिनुपर्ने भनेर चर्को आवाजमा कराउने सांसदहरू अहिले मौन बसेको भन्दै देशभन्दा ठूलो सत्ता गठबन्धन हुन्छ र रु भनेर प्रश्न गर्नुभयो ।
सत्तारुढ दल कांग्रेसका सांसद गगन थापाले वैवाहिक अंगीकृतको व्यवस्था अहिलेको विधेयकबाट आएको नभई राजा वीरेन्द्रको पालादेखि नै रहेको जवाफ दिनुभएको थियो ।
एमालेकै सांसद शेरबहादुर तामाङले जन्मसिद्ध नागरिकता पाउने र गैरआवासीय नेपालीलाई नागरिकता दिनेमा समर्थन रहेको बताउदै तर ब्रिटिश गोर्खालाई नागरिकता दिनुपर्ने धारणा राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*