अवैधरूपमा बरामद रकम कहाँ व्यवस्थापन हुन्छ?

बकैया दर्पण संवाददाता
३१ बैशाख २०८१, सोमबार १९:११

उक्त स्थानमा मिलनसमेतका व्यक्तिहरूले हुण्डीसम्बन्धी कारोबार गरिरहेका भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बा-१३ च ४८५८ नम्बरको गाडीबाट उक्त नगद फेला पारी दुवैलाई पक्राउ गरेको हो।

प्रहरी टोलीले फोर्ड कम्पनीको इको स्पोर्ट कारभित्र ठूलो परिमाणको अवैध रकम र सुन भएको सूचना पाएपछि कारको पिछा गरेको हो। कार सिंहदरबार दक्षिणगेट हुँदै हनुमानथानतर्फ मोडियो। त्यसबेला गाडी समिरले चलाएका थिए।

‘चालकको छेउमा थिए मिलन। पछाडिको सिटमा कार्टुन थियो’, उक्त घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘प्रहरीले कारलाई बाटोमै रोकेर जाँच नगरी मालीगाउँ प्रहरीमा पुर्‍याएर समातेको हो।’

केही ‘क्लू’ पाउने आसमा त्यसो गरिएको बताएको छ। उनीहरु सुन तस्करमा संलग्न रहेको पाइएको पनि ती अधिकारीले बताए।

गत सोमबार वीरगञ्ज महानगरपालिका १४ गण्डक चोकबाट पनि श्रोत नखुलेको १३ लाख १५ हजार रूपैयाँसहित सोही महानगरपालिका-२२ जगरनाथपुरका २८ वर्षीय रवि कुमार पटेललाई प्रहरीले पक्राउ गर्‍यो।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-०१० प ६७१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा झोलाभित्र लुकाएर ल्याइएको उक्त रकमसहित मोटरसाइकलमा सवार उनीलाई पक्राउ गरेको हो।

यस्ता घटना दैनिकजसो भइरहेको छ। पछिल्लो ५ वर्षमा ३१ करोड ६ लाख ८१ हजार ६२ रूपैयाँ बरामद गरेको तथा २३७ जनालाई पक्राउ गरेको प्रहरीको अभिलेखमा देखिन्छ।

प्रहरीको धरपकडका बीच पनि नेपालमा दैनिकरूपमा अवैध रकमसहित व्यक्ति पक्राउ पर्ने क्रम भने रोकिएको छैन।

कुन वर्ष कति बरामद भयो रकम?

प्रहरीका अनुसार २०८०/८१ मा मात्र ५ करोड ८० लाख २० हजार ४८० रूपैयाँ बरामद गरेको थियो भने ५० जना पक्राउ परेका थिए।

७९/८० मा ५ करोड ५३ लाख ८७ हजार ६०८ रूपैयाँ बरामद गरिएको थियो भने ६७ जना पक्राउ परेका थिए। त्यस्तै, ७८/७९ मा ११ करोड ५४ लाख ४४ हजार ६२४ रुपैयाँ बरामद भएको थियो, ६६ जना पक्राउ परेका थिए।

आव ७७/७८ मा ७ करोड २९ लाख २७ हजार ८५० रुपैयाँ बरामद भएको थियो। जसमा ४७ जना पक्राउ परेका थिए। यस्तै, ७६/७७ मा ८९ लाख ५०० रुपैयाँ बरामद गरिएको भने ७ जना पक्राउ परेका थिए।

बरामद रकम कहाँ व्यवस्थापन हुन्छ?

प्रहरीले विभिन्न समय व्यक्तिसहित अवैध रकम बरामद गर्दै आएको छ। पछिल्लो ५ वर्षमा प्रहरीले ३१ करोड ६ लाख ८१ हजार ६२ रूपैयाँ बरामद गरेको छ भने रकमसहित २३७ जनालाई पक्राउ गरेको छ।

यसअघिका प्रहरी प्रवक्ता भीमप्रसाद ढकाल (नवनियुक्त एआइजी)ले बरामद रकम सम्पत्ति शुद्धीकरण विभागमा पठाउने गरेको बताए। उनले भने, ‘हामीले बरामद गरेको रकम र व्यक्तिहरू सम्पत्ति शुद्धीकरण विभागमा पठाउँछौँ। थप अनुसन्धान भने विभागबाट हुने गरेको छ।‘

उक्त रकम यदि स्रोत खुलेको खण्डमा सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण हुने नत्र सरकारी राजस्वमा व्यवस्थापन हुने प्रवक्ता ढकालले बताए। पक्राउ गरेका सबै चिजवस्तुमा अनुसन्धान गर्ने अधिकार प्रहरीलाई नरहेकाले सम्बन्धित निकायमा बुझाउने गरिएको उनले बताए।

अनुसन्धानमा क्षेत्राधिकार नाघ्न पाइन्न

अनुसन्धानको हकमा हुण्डी, विदेशी विनिमय अपचलनलगायतका मुद्दा राजस्व अनुसन्धान विभागले हेर्ने गरेको छ। सम्पत्ति शुद्धिकरण विभाग, राजस्व अनुसन्धान विभागलगायत अन्यनिकायको क्षेत्राधिकार परेको अवस्थामा तत्‌तत्‌ निकायबाट अनुसन्धान अघि बढ्छ।

अनुसन्धानमा कुन अपराध गरेको हो, सम्बन्धित निकायमा पठाउनुपर्ने हुन्छ। कसैले ठगी गरेर आएको छ भने त्यसका लागि प्रहरीले नै अनुसन्धान गर्छ। चोरी पनि प्रहरीले नै हेर्छ।​

सुरुमा पक्राउ परेपछि त्यसविषयमा प्रारम्भिक अनुसन्धान प्रहरीका अनुसन्धान अधिकारीबाटै हुन्छ।  ‘प्रहरीको क्षेत्राधिकार भएको अवस्थामा प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकीलमार्फत अभियोजन दर्ता हुन्छ भने अन्य निकायमा पठाउनुपर्ने भए रायसहित पठाउँछ।’

अन्ततः सजाय निर्धारण गर्ने निकायले दिएको आदेश अनुसार उनीहरूमाथि कारबाही हुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*