प्रधानमन्त्री : नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकमा सुधार आएको छ

बकैया दर्पण संवाददाता
४ बैशाख २०८०, सोमबार १९:२४

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको दाबी गर्नुभएकाे छ ।

सोमवार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवर्धन संवाद परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भए पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायहरूको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ । वित्तीय तरलताको स्थितिमा सुधार भएको छ । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाह, पर्यटनलगायतका क्षेत्रमा प्रगति हुँदै जान थालेको छ । कर्जाको दर पनि बिस्तारै घट्दै जान थालेको छ । समग्रमा हेर्दा समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार भएको छ ।’

प्रधानमन्त्रीले भन्नुभयाे, ‘नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवम् अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा राखिएको छ ।’

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार निजी क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाललगायत नेपाल चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली सङ्घ, साना तथा घरेलु उद्योग महासङ्घलगायत निजी क्षेत्र सम्बद्ध सङ्घ–संस्थाका प्रमुख र प्रतिनिधिका साथै निजी क्षेत्र सम्बद्ध व्यक्तिहरूको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*