नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वको लागि चुनावी चहलपहल बढ्दै

बकैया दर्पण संवाददाता
२५ चैत्र २०७९, शनिबार ०९:२१

मकवानपुर ।  निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वको लागि चुनावी चहलपहल बढेको छ । आउँदो २८ र २९ गते हुने महासङ्घको साधारणसभाले एक जना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र केन्द्रीय सदस्यहरु चयन गर्नेछ ।

महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष को बन्ने भन्ने प्रतिस्पर्धा रहेको छ । महासङ्घको ५७औँ साधारण सभाबाट चयन हुने नयाँ नेतृत्व दाबी गर्दै वरिष्ठ उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि महासङ्घका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, बहालवाला उपाध्यक्षहरू रामचन्द्र सङ्घाई र अञ्जन श्रेष्ठको उम्मेदवारी परेको छ । महासङ्घको विधानले तीन फरक व्यावसायिक क्षेत्रमा तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ ।

जिल्ला–नगर वाणिज्य, एसोसिएट र वस्तुगत उपाध्यक्षका ८ उम्मेदवार छन् । वाणिज्यतर्फ सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ, वस्तुगततर्फ सकुन्तला हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल तथा एसाेसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यको उम्मेदवारी परेको हो ।

साधारणसभाबाट अध्यक्षबाहेकका सबै पदाधिकारी र सदस्यहरू निर्वाचित हुने छन् । महासङ्घको विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आउँदो ३० गतेपछि स्वतः अध्यक्ष बन्नुहुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*