महासंघमा चुनावी सरगर्मी, वरिष्ठ उपाध्यक्षमा चार प्रतिस्पर्धी

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार ११:२५

मकवानपुर । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएको छ । चैत २८ मा हुने महासंघको निर्वाचनका लागि निजी क्षेत्रले देशव्यापी चुनावी अभियानलाई तिव्रता दिइरहेको छ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान छ । चैत २८ पछि अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व सम्हाल्ने छन् । अहिले तीन वर्षपछि नेतृत्व सम्हाल्न वरिष्ठ उपाध्यक्षका लागि चुनावी दौड सुरु भएको हो ।

वरिष्ठ उपाध्यक्षका आकांक्षी रहेका व्यवसायीका नेताहरुले आ–आफ्नो पकड बनाउन भेटघाटलाई तीव्र पारेका छन् । अहिलेसम्म हेर्दा हालको कार्यकारिणी समितिका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईसहित पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा छन् ।

महासंघको ५७ औं साधारणसभाले वरिष्ठ उपाध्यक्ष सहित ६४ सदस्यीय कार्यसमिति निर्वाचन गर्नेछ । जसमध्ये जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट क्षेत्रको प्रतिनिधित्व गर्ने तीन उपाध्यक्ष रहने छन् । सदस्य मध्येबाट कोषाध्यक्ष चयन हुने व्यवस्था छ भने कार्यकारिणी समितिले विशिष्ट सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण महासंघको निर्वाचनमा यही वरिष्ठ उपाध्यक्षका लागि सबैभन्दा धेरै चासो र आकर्षण रहेको छ । आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका आकांक्षीहरु महासंघको राजनीतिमा अनुभवी र व्यावसायिक वृत्तमा पनि सफल व्यक्तित्व छन् । उनीहरुले अन्य पदका आकांक्षी व्यवसायीको टिम बनाएरै आन्तरिक प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको समूहबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट समूहबाट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत समूहबाट उपाध्यक्षमा मनिषलाल प्रधान उम्मेदवार बनाउने तयारी रहेको बताइएको छ । यस्तै, उमेशलाल श्रेष्ठको समूहबाट एउटामात्र उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी निश्चित भए पनि अन्य उपाध्यक्षको टिम बनाउन बाँकी नै छ ।

रामचन्द्र संघई समूहबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, एसोसिएट समूहमा भरतराज आचार्य तथा वस्तुगत समूहमा सन्दीप अग्रवालको चर्चा छ । यद्यपि, जिल्ला नगर उपाध्यक्षमा नरेन्द्रकुमार खड्का र वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचनको सम्भावना रहेको पनि जनाइएको छ । एसोसिएट उपाध्यक्षका उम्मेदवार आचार्य भने उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई दुवै प्यानलको साझा उम्मेदवार बन्न सक्ने सम्भावना छ ।

वरिष्ठ उपाध्यक्षका आकांक्षी दिनेश श्रेष्ठले भने आफू कुनै प्यानल नबनाई प्रतिस्पर्धामा जाने बताएका छन् । श्रेष्ठले आफूलाई देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको समर्थन रहेको र साना मझौला व्यवसायीका समस्याका विषयमा बारम्बार आवाज उठाइरहेकाले जितमा ढुक्क रहेको बताए । उनले बैंकको चर्को ब्याजदरका विषयमा आफूले वर्षौंदेखि उठाइरहेको मुद्दा अहिले राष्ट्रिय महत्वको विषय बनेको र यसलाई निष्कर्षमा पुर्याउन पनि आफू उम्मेदवार बन्नैपर्ने अवस्था रहेको बताए ।

महासंघका एसोसिएट उपाध्यक्ष रामचन्द्र संघईले आफूले महासंघमा दुई दशकदेखि अनवरत सहभागिता जनाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा आफू जित्नेमा ढुक्क रहेको बताए । त्रिवेणी ग्रुपका सञ्चालक रहेका उनी आफू व्यवसायीको समस्या बुझ्ने भएकाले सबैको विश्वासका साथ अघि बढ्ने बताउँछछन् । उनले निर्वाचनका लागि आफू विभिन्न जिल्ला पुगेको बताउँदै व्यवसायीको समर्थनले उत्साहित भएको सुनाए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ बदलिँदो व्यावसायिक वातावरणमा महासंघको सशक्त भूमिकाका लागि आफूले पहल गर्ने बताउँछन् । उनले आफ्नो अनुभव र व्यावसायिक योग्यता तथा व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता नै जितको मुख्य आधार रहेको बताए । महासंघमा झन्डै आधा दर्जन अध्यक्षसँग नजिक रहेर काम गरिसकेको तथा देशभरका उद्योग वाणिज्य संघहरु एवं वस्तुगत र एसोसिएट क्षेत्रसँग समन्वय र सहकार्य गरिरहेको आधारमा आफूलाई जिताउने उनको विश्वास छ ।

ढकालको समर्थनका लागि प्रयास

महासंघमा वरिष्ठ उपाध्यक्षका चारजना प्रतिस्पर्धी नै वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समर्थनका लागि प्रयासरत छन् । ढकाल स्वतः अध्यक्ष हुने भएकाले उनको समर्थनले महासंघ निर्वाचनमा ठूलो प्रभाव पार्नेछ । उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले अघिल्लो निर्वाचनमा ढकालकै प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए भने दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठ अर्को प्यानलबाट प्रतिस्पर्धा गरे पनि ढकालसँग निकटता बढाउन खोजिरहेका छन् । तर, ढकालले भने आफ्ना लागि सबै उम्मेदवार बराबर रहेको भन्दै कुनैको पक्षमा पनि नखुल्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । (कारोबार अनलाइन)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*