बकैया दर्पणमा बिहानसम्मका महत्वपूर्ण खबरहरु

बकैया दर्पण संवाददाता
२७ पुष २०७९, बुधबार १०:४८

१. सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै
मकवानपुर । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखको मनोनयन दर्ताको लागि समय दिइएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजै उम्मेदवारको नामावली प्रकाश, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक गर्ने सचिवालयको कार्यतालिका छ ।

सचिवालयका अनुसार आजै अन्तिम नामावली प्रकाशन गरेर भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तयारी छ । सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्ने बारे माओवादीले निर्णय गर्न सकेको छैन ।

२. गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पर्सि विश्वासको मत लिने

मकवानपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्सि विश्वासको मत लिनुहुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भोलि विश्वासको मत लिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

सरकारले सकेसम्म छिट्टै नै विश्वासको मत लिई मन्त्रिपरिषद् विस्तार गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री अधिकारीले अस्ति प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष ३३ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा दाबी पेस गर्नुभएको हो ।

३. लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने

मकवानपुर । लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने समझदारी गरेका छन् । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको बताउनुभएको हो । यस्तै, मधेश प्रदेशको मुख्यमन्त्रीका लागि भने जनता समाजवादी पार्टीले दाबी पेश गर्ने तयारी गरेको छ ।

मधेसमा पहिलो पालोमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारको नेतृत्व गर्ने सत्ता साझेदार दलहरुबीच सहमति छ । सोही सहमति अनुसार जसपा संसदीय दलका नेता सरोज यादवले मुख्यमन्त्रीमा दाबी पेश गर्न अन्य दलसँग छलफल अघि बढाउनुभएको छ ।

४. पृथ्वी जयन्ती मनाइँदै, आज सार्वजनिक बिदा

मकवानपुर । हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । आज पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती हो । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका पहिलो सन्तानको पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह गोरखा राज्यको राजा हुनुभएको थियो । त्यसअघि नेपाल बाईसे तथा चौबिसे राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको निधनपछि उहाँका छोरा बहादुर शाहले पश्चिमको काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेका गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ मा काठमाडौँ उपत्यका विजय हासिल गरेका गर्नुभएको थियो । उहाँको निधन वि.सं. १८३१ मा भएको थियो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

५. पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेकोमा राष्ट्रपति भण्डारीको जोड

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गर्नुभएको छ ।

वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवश्यक रहेको राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।

६. वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुसी नरहेको पूर्वराजाको टिप्पणी

मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुसी नरहेको टिप्पणी गर्नुभएको छ । शाहवंशी राजसंस्थाका संस्थापक पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै नेपालका अन्तिम राजा ज्ञानेन्द्रले यसको पुनरावलोकन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि राष्ट्रमा सुख हुन नसक्ने दाबी पनि गर्नुभयो । गणतन्त्र स्थापना भएर गद्दी छाडेपछि तत्कालीन राजाले व्यवस्थाप्रति नै असन्तुष्टि जनाएर पुनरावलोकनको बहस चलाएको यो पहिलो पटक हो ।

७. मलेसियामा अलपत्र श्रमिक नेपाल फर्काइँदै

मकवानपुर । मलेसियाको एक कम्पनीमा बन्धक बनाइएका २८ नेपाली कामदारमध्ये सात जना आज नेपाल फर्कदै छन् । मलेसियास्थित नेपाली दूतावासले बन्धन बनाइएका मध्ये नौ जना पुनः सोही रोजगारीमा फर्किएका छन् भने १२ जनाले निर्णय नदिएकाले आज ७ जना मात्रै नेपाल फर्कने भएका हुन् । चार महिनाअगाडि वैदेशिक रोजगारीका क्रममा काठमाडौँस्थित खोजी रिक्रुटमेन्ट कम्पनीमार्फत मलेसियास्थित हङ्सी इन्टरप्राइज कम्पनीका लागि गएका उनीहरू रोजगारदाता कम्पनीसँग विवाद भएपछि उनीहरू निष्कासनमा परेका थिए ।

कम्पनीले बन्धक बनाएपछि म्यानपावर कम्पनीका प्रतिनिधि मोहम्मद जुनैद र पीडितले दूतावासमा उजुरी गरेका थिए । दूतावासको सहजीकरणमा गत जनवरी ३ मा रोजगारदाता कम्पनीविरुद्ध मलेसिया प्रहरीमा उजुरी दिइएको दूतावासले जनाएको छ । मलेसिया प्रहरीले रोजगारदाताको अनुसन्धान गरिरहेको छ ।

८. स्थानीय तहका जनप्रतिनिधि नागरिकको समस्या समाधान गर्न केन्द्रित

मकवानपुर । दोस्रो कार्यकालका लागि निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि आफ्ना नागरिकको समस्या समाधान गर्न केन्द्रित भएका छन् । स्थानीय सरकारले पहिलो कार्यकालमा, भवनलगायत पूर्वाधार व्यवस्थापन, कर्मचारी व्यवस्थापन, आवश्यक कानुन निर्माण लगायतका काममा जोड दिएका थिए । पहिलो कार्यकालमा सडक विस्तारले प्राथमिकता पाएको बझाङ्को दुर्गाथली गाउँपालिकाले यसपटक शिक्षामा लगानी बढाउने योजना बनाएको छ । हुम्लाको सर्केगाड गाउपालिका एक गाउँ एक सडक सञ्जाल अभियानमा लागेको छ । जुम्लाको हिमा गाउँपालिकाले भने यसपटक पहिलो प्राथमिकतामा स्वास्थ्यमा नागरिकको पहुँच बढाउन स्वास्थ्य संरचना निमार्णलाई प्राथमिकतामा राखेको छ । हरेक वडामा प्राथमिक स्वास्थ्य केन्द्र निर्माणदेखि व्यवस्थित अस्पताल निमार्ण गर्ने लक्ष्य लिएको पालिकाका उपाध्यक्ष सपना शाहीले जानकारी दिनुभयो ।

रोल्पाका १० वटा स्थानीय तह मध्य भौगोलिक रूपमा दुर्गम रहेको गङ्गादेव गाँउपालिकामा खानेपानी र विद्यालयमा सबैको सहज पहुँच छैन भने कृषि पूर्वाधार नहुँदा खेतीपाती सप्रेको छैन तर पालिकाको प्राथमिकता भने गाँउपालिकाको नाम परिवर्तन गर्नु रहेको अध्यक्ष हरिबहादुर पुनले बताउनुभयो । पहिलो कार्यकालमा जथाभावी सडक निर्माणलाई प्राथमिकता दिएका कारण चर्को आलोचना सहेका स्थानीय सरकारले दोस्रो कार्यकालमा नागरिकका खास समस्या समाधान र दीगो विकासका योजनामा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।

९. बैँक तथा वित्तीय संस्थाले अङ्ग्रेजी भाषामा दिने सूचना आफूहरूले नबुझ्ने ग्राहकको भनाइ

मकवानपुर । बैँक तथा वित्तीय संस्थाले अङ्ग्रेजी भाषामा दिने सूचना आफूहरूले नबुझ्ने ग्राहकहरूले गुनासो गरेका छन् । ग्राहकलाई आवश्यक पर्ने सम्पूर्ण सूचना उपलब्ध गराउन नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । हाल बैँक तथा वित्तीय संस्थाले खातामा रकम जम्मा भएको, झिकेको, विभिन्न सेवा वापत शुल्क काटेको लगायतका सूचना मोबाइलमा एसएमएस मार्फत तथा इमेल र आफ्नो वेबसाइट मार्फत पनि दिने गरेका छन् । तर त्यसरी दिइने सूचना अङ्ग्रेजी भाषामा हुने भएकाले सर्वसाधारणलाई बुझ्न समस्या हुने गरेको छ ।

दोलखाका मानसिंह थामीले बैँकबाट आउने सबै सूचना तथा जानकारी अङ्ग्रेजी भाषामा हुने भएकाले बुझ्नै मुस्किल पर्ने गरेको गुनासो गर्नुभयो । खातामा रकम जम्मा भएको, झिकिएको मात्र नभइ बैँकबारेका अन्य जानकारी र सूचना सबै ग्राहकले बुझ्ने गरि पठाउनुपर्नेमा बैँक र वित्तीय संस्थाहरूले औपचारिकता मात्र पूरा गरेका छन् । कुमारी बैँकका प्रवक्ता मुकुन्द सुवेदीले यसबारेमा बैँक तथा वित्तीय संस्थाले निर्णय गर्न सक्ने बताउनुहुन्छ ।

नेपालीमाभन्दा छोटो हुने भएकाले अङ्ग्रेजीमा सन्देश पठाउने गरिएको बैँक तथा वित्तीय संस्था बताउँछन् । कुनै पनि सूचना र सन्देश पुग्नुका साथै लक्षित समुदायले बुझ्नु भएकाले यस्ता सन्देश नेपाली भाषामै हुनुपर्ने पत्रकार राजेन्द्र दाहालले बताउनुभयो । बैँक तथा वित्तीय संस्थाहरूले यस्ता सूचना, जानकारी र सन्देश नेपाली भाषामा पठाउन थालेमा धेरै ग्राहकले बुझ्नेछन् ।

१०. प्यूठानमा पहिरोबाट विस्थापित ४९ परिवार जङ्गल तथा विद्यालयमा बस्न बाध्य

मकवानपुर । गत असोज १८ गते प्यूठानको ऐरावती, माण्डवी गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोका कारण करिब ४९ परिवार घरवार बिहिन भएका छन् । पहिरोका कारण बस्ती नै जोखिममा परेपछि उनीहरू हाल जङगल तथा विद्यालयमा बस्न बाध्य भएका छन् । असोज १८ गतेदेखि लगातार ४ दिनसम्म परेको पानीका कारण बस्ती माथिबाट जमिन भासिएपछि ऐरावती गाउँपालिका ४ तिघ्रापातल र माण्डवी गाउँपालिका २ धनचौरका ४९ परिवार विस्थापित भएका थिए ।

पहिरोले सिङ्गो बस्ती र जमिनमा धजा फाटेपछि ऐरावती गाउँपालिका ४ का २३ घर परिवारमध्ये अधिकांश विद्यालयमा आश्रय लिइरहेका छन् भने केहि जोखिम मोलेर चर्किएको घरमा बसिरहेका छन् । पहिरो गएको ३ महिना बितिसक्दा समेत उनीहरू न त घर फर्कन सकेका छन नत सरकारी पक्षबाट सुरिक्षत आवास नै पाएका छन् । बस्ती स्थानान्तरण गर्ने की घर पूर्ननिर्माण गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको स्थानीयवासी उमा बुढाथोकी मगरले बताउनुभयो ।

पहिराका कारण बस्ती जोखिममा परेका नागरिकलाई सुरक्षित आवासका लागि तीनै तहका सरकारले बेवास्ता गरेको प्रभावितहरूको गुनासो छ । स्थानीय तहले राहत वापत खाद्यान्न उपलब्ध गराएपनि दीर्घकालीन रुपमा आवासका लागी आश्वासन बाहेक अरु दिन सकेको छैन । प्रदेश सरकारले भुगर्भविद्को सल्लाहपछि बस्ती स्थानानतरण गर्ने बताएको थियो तर ऐरावती गाउँपालिका ४ तिघ्रापातलमा अवलोकनको लागि अहिलेसम्म भुगर्भविद् पुगेका छैनन् ।

भुगर्भविद् र विभागसँग समन्वय भने भइरहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

११. जलवायु परिवर्तनका कारण हिमालय र हिन्दुकुश पर्वतमालाको वातावरण प्रभावित बन्दै

एजेन्सी । जलवायु परिवर्तनका कारण हिमालय र हिन्दुकुश पर्वतमालाको वातावरण नराम्ररी प्रभावित बन्दै गएको पाइएको छ । युरोप एसिया फाउन्डेसनले हालै प्रकाशन गरेको प्रतिवेदनले जलवायु परिवर्तनले हिमालय र हिन्दुकुश पर्वतमालाको वातावरणमा प्रतिकूल प्रभाव परिरहेको देखाएको हो । यस क्षेत्रमा पानीको स्रोत हिउँ, बरफ, हिमनदी, हिमतालजस्ता ठोस अवस्थामा रहेको उल्लेख गर्दै फाउन्डेसनले विस्तारै यी स्रोत मासिँदै गएको जनाएको छ ।

यस क्षेत्रबाट प्राप्त हुने पानीबाट विश्वको पाँच भागको एक भाग मानिसहरूले जीवन निर्वाह गर्ने गरेका भन्दै यसको विनाशले नराम्रो अवस्था निम्त्याउने चेतावनी समेत दिइएको छ । यसबाहेक पानीको स्रोत विनाश हुँदै गएको खण्डमा कृषि, पशुपालन, वन्यजन्तु, उर्जा लगायतका क्षेत्रमा पनि प्रतिकूल प्रभाव पार्ने प्रतिवेदनमा चेतावनी दिइएको छ । जलवायु परिवर्तन र यसको प्रभावबारे पर्याप्त अध्ययन, मूल्याङ्कन नभएको उल्लेख गर्दै फाउन्डेसनले विश्वव्यापी औसतभन्दा यो क्षेत्रमा दोब्बर गतिमा तापक्रम बढिरहेको जनाएको छ ।

१२. नेपाल टी–२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी र विराटनगर खेल्ने

मकवानपुर । नेपाल टी–२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी अल स्टारर्स र विराटनगर सुपर किङ्स खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुरलाई तथा विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै हराएर फाइनल पुगेका हुन् ।

लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

१३. ‘बी’ डिभिजन लिग चैत २९ मा हुने

मकवानपुर । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता चैत अन्तिममा हुने भएको छ । हिजो बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा¬) र बी डिभिजन क्लबबीचको बैठकले लिग आगामी चैत्र २९ गतेबाट सुरू गर्ने सहमति गरेका हुन् ।

एन्फाले क्लबको तयारीको रकम पनि बढाएर १४ लाख ५० हजार पु¥याएको छ । यो अघिल्लो रकममा २ लाख २५ हजारले बढी हो । अघिल्लो सिजनमा क्लवहरूले १२ लाख २५ हजार पाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*