बकैया दर्पणका महत्वपूर्ण १० खबरहरु

बकैया दर्पण संवाददाता
२२ पुष २०७९, शुक्रबार १०:५१

१. सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज तयार हुने

मकवानपुर । सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज तयार हुने भएको छ । मस्यौदा तयार गर्न सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । यसअघि हिजो नै बस्ने भनिएको बैठक आज बिहान ११ बजेलाई सारिएको कार्यदलका संयोजक समेत रहनुभएका अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

आजको बैठकमा मस्यौदामाथि दफावार छलफल गर्दै अन्तिम रुप दिने तयारी गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार कार्यदलले अहिलेसम्म सरकारमा सहभागी विभिन्न दलका सुझावहरुलाई सङ्गठित गर्दै एउटा मस्यौदा तयार गरिसकेको छ । आजको बैठकले त्यही मस्यौदालाई अन्तिम रुप दिने तयारी गरेको हो ।

२. पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

मकवानपुर । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा बस दुर्घटना हुँदा एकै गाउँका ६ जना महिला तथा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुर्साने गाउँका ११ वर्षका सरुमा घिमिरे, ३३ वर्षका निर्मला घिमिरे, ५४ वर्षका खिम कुमारी राना, ४५ वर्षका गुनी गाहा, २१ वर्षका कमला भनिने दानकुमारी खत्री र १९ वर्षका बीमा पाण्डेको मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका १६ जनाको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो ।

केही घाइते भने उपचारपछि घर फर्किसकेका छन् । दुर्घटनामा परेको ग १ ख ४९७७ नम्बरको बस रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्नेका लागि छुटेको थियो । दुर्घटनामा परि घाइते भएका सवारी चालकका अनुसार ब्रेक फेल हुँदा बस दुर्घटना भएको हो । घटनास्थल सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

३. नयाँ सरकारद्वारा सचिव सरुवालाई निरन्तरता

मकवानपुर । नयाँ सरकारले पनि सचिव सरुवालाई निरन्तरता दिएको छ । नयाँ सरकार र मन्त्री आए लगत्तै सुरु हुने सचिव सरुवाको परम्परालाई निरन्तरता दिँदै नयाँ सरकारले ७ जना सचिवको सरुवा गरेको हो । हिजो बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवको सरुवा गरेको हो ।

अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, राजस्व सचिव रामेश्वर दङ्गाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालयमा, कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, वाणिज्य मन्त्रालयका सचिव तोयम रायालाई अर्थ सचिवमा, अख्तियारका सचिव डा. रामप्रसाद घिमिरेलाई राजस्व सचिवमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको हो ।

४. रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिट खारेज गर्न माग

मकवानपुर । प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँले गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिट खारेज गर्न माग गरेका छन् । सर्वोच्च अदालतलाई पठाइएको छुट्टाछुट्टै लिखित जवाफमा तीनवटै निकायले लामिछानेविरुद्धको रिट खारेज गर्न माग गरेका हुन् ।

लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः बदर भएको र नेपाल फर्केपछि पुरानै नागरिकता प्रयोग गरी दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बनेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । ती निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ६ मा कारण देखाउ आदेश जारी गरेको थियो । सोही आदेश बमोजिम तीन वटै निकायले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै रिट खारेजिको माग गरेका छन् ।

५. हिउँदे वर्षा नहुँदा प्रदूषणको मात्रा स्वास्थ्यका लागि हानिकारक अवस्थामा

मकवानपुर । हिउँदे वर्षा नहुँदा नेपालका विभिन्न ठाउँमा प्रदूषणको मात्रा स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । विशेषगरि औद्योगिक क्षेत्र आसपास यस्तो प्रदूषण अझ उच्च दरमा बढिरहेको हो ।

वातावरण विभागका अनुसार गएको २४ घण्टामा काठमाडौँको रत्नपार्क, शङ्खपार्क, ललितपुरको खुमलटार र महेन्द्रनगरको भिमदत्तमा प्रदूषणको मात्रा स्वास्थ्यको हिसाबले हानिकारक अवस्थामा पुगेको छ । विशेषगरि हिउँदे वर्षा नहुँदा प्रदूषण बढेको विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी बिहान र बेलुकाको समयमा प्रदूषणको मात्रा उच्च विन्दुमा पुग्ने गरेको छ । दिउँसो हावा चल्दा धुँवा धुलोका कणहरू केही पर उड्ने भएपनि बिहान बेलुकी हुस्सु, कुहिरोका कारण एक ठाउँमै थिग्रिएर बस्दा प्रदूषण बढ्ने उहाँको भनाइ छ ।

सामान्यतया अङ्ग्रेजी महिनाको डिसेम्बरदेखि फेब्रुअरीसम्ममा हुने वर्षालाई हिउँदे वर्षा भनिन्छ । यसपाली हिउँदे वर्षा कम हुने यसअघि नै पूर्वानुमान गरिएको छ । अहिले तत्काल पानी पर्ने अवस्था नदेखिएकाले प्रदुषण घट्ने सम्भावना पनि नरहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । तर पनि पानी पार्ने प्रणाली सक्रिय नभएकाले तत्काल तुँवालो हट्ने सम्भावना छैन । प्रदुषण बढ्दै जाँदा स्वास्थ्यसँग सम्बन्धित समस्याहरु बढ्दै जाने भएकाले सकेसम्म घरबाहिर ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन डाक्टरले सुझाव दिएका छन् ।

मर्मत नगरिएका सवारी साधन, फोहोर बाल्दा निस्कने धुँवा लगायतका कारण प्रदूषण बढेको वातावरण विज्ञले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हिउँदमा वर्षभरि हुने वर्षाको औसत ४ प्रतिशत जति पानी पर्ने गरेको छ ।

६. अत्यावश्यक नभएकाहरू पनि राहदानी विभाग आउँदा सर्वसाधारणको भीड

मकवानपुर । जिल्ला वा इलाका प्रशासन कार्यालयबाटै राहदानी अर्थात् पासपोर्टको फाराम बुझाउन र राहदानी लिन पाइने भए पनि सर्वसाधारण काठमाडौँ नै आउने गरेको पाइएको छ । अत्यावश्यक परेकाहरू द्रुत मार्गबाट राहदानी लिन विभाग जानुपर्ने व्यवस्था भए पनि अन्य सर्वसाधारण पनि विभाग आउने गरेका छन् ।

हजारौँ रुपैयाँ र कम्तिमा १ हप्ताभन्दा बढी समय खर्चेर काठमाडौँ आउने सेवाग्राही सबैलाई तत्काल राहदानी चाहिएको नै हुँदैन । नवलपुर कावासोतीका कान्ति तामाङले राहदानी छिटो बनाउन भनेर कावासोतीबाट काठमाडौँ आएको भए पनि कुन देश जाने र कहिले जाने निर्णय भइ नसकको बताउनुभयो । छिटो राहदानी बनाउन दैनिक हजारौँ सेवाग्राही काठमाडौँ आउने गरेका छन् ।

जिल्लाबाट ५ हजार रुपैयाँ मात्र राजश्व बुझाए मिल्ने राहदानी दु्रतमार्गबाट बनाउँदा १२ हजार रुपैयाँ तिर्नुपर्छ । विभागले दु्रतमार्गबाट दैनिक २ हजार जनाको राहदानी बनाउँछ छ । तर, दैनिक ६ हजारभन्दा धेरै सेवाग्राही पुग्ने भएकाले विभागको सेवा प्रवाह नै अस्तब्यस्त भएको छ ।

प्रशासन कार्यालयमा गएर राहदानी बनाउन सकिने भए पनि समय एक महिनाभन्दा बढी लाग्ने भएकाले विभाग नै धाउनुपरेको सेवाग्राही बताउँछन् । तर २ हप्ताभित्रमा राहदानी सम्बन्धित प्रशासन कार्यालयमा पठाइ सकिने भएकाले काठमाडौँमा आएर खर्च गर्नुभन्दा अति आवश्यक परे बाहेकका सेवाग्राहीले जिल्ला वा इलाका प्रशासन कार्यालयबाटै राहदानीको फारम बुझाउनु ठिक हुने विभागका प्रवक्ता दुरपदा सापकोटाले बताउनुभयो ।

७. स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि

मकवानपुर । हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु हुँदैछ ।

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पुस शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत गर्ने गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ।

बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाए। व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।

काठमाण्डौको साँखुमा रहेको शालीनदीमा आजैदेखि एक महिनासम्म माघस्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ । यसवर्षको साँखुको एक महिना लामो स्वस्थानी व्रत २५ पुरुष, १९० महिला गरेर २१५ जनाले लिएका छन् । व्रत सुरु भएको चार दिनसम्म पनि व्रत सुरु गर्न सकिने भएकोले यो सङ्ख्या बढ्न सक्ने श्री माधव नारायण स्वस्थानी व्रत शालीनदी सुधार समितिका सल्लाहकार प्रकाश मान सक्वले बताउनुभयो।

८. युक्रेनमा आक्रमण गरिरहेको रूसद्वारा ३६ घण्टे युद्धविराम घोषणा

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको छ । आज दिउँसो १२ बजेदेखि भोलि राति १२ बजेसम्मका लागि रुसी राष्ट्रपति पुटिनले युद्धविरामको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् ।

रुसका ईसाई धर्मगुरु किरिलको अपिलका आधारमा राष्ट्रपति पुटिनले अर्थोेडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको क्रेमलिनले जनाएको छ । अर्थोडक्स क्रिसमस रुस, ग्रीस, इथियोपिया, इजिप्ट लगायत पूर्वी युरोपका देशमा मनाइन्छ ।

९. श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढ्यो

एजेन्सी । श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको पाइएको छ । स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले संसद्लाई सम्बोधन गर्दै श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि कदम चालिएको बताउनुभएको हो । मुलुकको आर्थिक सङ्कटका बेला बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण पनि बालबालिकामा कुपोषण बढेको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को हालैको एक प्रतिवेदनअनुसार श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको बीचमा रहेको र सन् २०२३ भर जारी रहने अनुमान गरिएको छ ।

१०. नेपाल टी–२० लिगमा आज पनि दुई खेल हुँदै

मकवानपुर । नेपाल टी–२० लिगमा आज पनि दुई खेल हुँदैछ । बिहान ९ बजे लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स तथा दिउँसो १ बजे विराटनगर सुपर किङ्स र फार वेष्ट युनाइटेड खेल्ने भएका छन् । दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यसैबीच लिग सञ्चालनका क्रममा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टोली नेपाल आएको छ । सोही क्रममा आइसिसीको टोलीले हिजो राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गरेको छ । यसअघि टोलीले विमानस्थलबाट सोभैm कीर्तिपुरस्थित त्रिविको खेलमैदानको निरीक्षण गरेको थियो । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो ।

जारी प्रतियोगितामा खेल मिलेमतोका गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि आइसीसीले दुई सदस्यीय टोली नेपाल पठाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*