बकैया दर्पणमा आजका महत्वपूर्ण १० समाचारहरु

बकैया दर्पण संवाददाता
२१ पुष २०७९, बिहीबार १०:५८

१. भागबन्डा मिलाउनका लागि मन्त्रालय नफुटाउने सत्ता गठबन्धनको निर्णय

मकवानपुर । सत्तारुढ गठबन्धनले भागबन्डा मिलाउनका लागि मन्त्रालय नफुटाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले मन्त्रालय नफुटाउने सहमति गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

उहाँले राप्रपालाई सरकारमा सहभागी गराउन मन्त्रालय फुटाउन लागिएको हल्ला पनि निराधार भएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागिता रहेको थियो । प्रधानमन्त्री प्रचण्डले सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भाग पु¥याउनका लागि २२ वटा मन्त्रालयबाट विभाजन गरेर २५ वटा पु¥याउने तयारी गर्नुभएको थियो । सो तयारीको विभिन्न क्षेत्रबाट आलोचना भएको थियो ।

नयाँ संविधानअनुसार मन्त्रिपरिषद् २५ सदस्यीयभन्दा ठूलो बनाउन मिल्दैन । संविधानले नै राज्यमन्त्रीसहित अधिकतम २५ जनाको मन्त्रिपरिषद् हुनुपर्ने सीमा तोकिदिएको छ । सोही कारण मन्त्रालय फुटाउने विषयमा सत्ता गठबन्धनकै दलहरू सन्तुष्ट थिएनन् । यसैबीच गठबन्धनको बैठकमा आज साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रुप दिने सहमति भएको छ । विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको मस्यौदा समितिले आजसम्मको समय माग गरेको थियो, सोही अनुसार निर्णय भएको छ ।

२. प्रदेशतर्फ पनि सरकार गठनको प्रक्रिया सुरु

मकवानपुर । प्रदेशतर्फ पनि सरकार गठनको प्रक्रिया सुरु भएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले आगामी पुस २७ गते साँझ पाँच बजेभित्र प्रदेश सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आज प्रदेश सरकार गठनका लागि आह्वान गर्नुभएको हो । सरकार गठन गर्न संविधानको धारा १६८(१) बमोजिम कुनै पनि दलको एकल बहुमत नपुग्ने भएकाले धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेसराज ढुंगानाले बताउनुभयो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । १९ सांसदसहित नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ । सुदुरपश्चिम प्रदेशको मूख्य मन्त्रीबारे सत्तारुढ दलले निर्णय गरिनसके पनि नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएको छ ।

३. प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनमा कर्मचारीको आनाकानी

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेवा प्रवाहलाई चुस्त बनाउन सचिवहरूलाई ३० बुँदे निर्देशन दिनु भएपछि विभिन्न ढङ्गबाट बहस भइरहेको छ । सरकारी सेवाका सम्बन्धनमा सिंहदरवारभित्रकै कर्मचारीको पनि मत फरक देखिएको छ । केही सरकारी अधिकारीले कर्मचारी जिम्मेवार बनिदिए समस्या समाधान हुने प्रतिक्रिया दिएका छन् । बढी भिडभाड हुने सरकारी कार्यालयमा टोकन प्रणाली लागू गरेमा, अनलाइन सेवालाई चुस्त बनाएमा पनि सजिलै समस्या समाधान गर्न सकिने विज्ञको सुझाव छ । तर, भाौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव शिवप्रसाद नेपालले त्यसका लागि पनि झण्झटिलो प्रक्रिया पार गर्नुपर्ने बताउनुभयो ।

सेवाग्राहीहरू भने सरकारी सेवा चुस्त नभएर सुस्त हुनुमा कर्मचारी र प्रणालीकै मूख्य दोष रहेको बताउँछन् । कर्मचारी भने सेवाग्राही र सरकारी प्रक्रियालाई बढी दोषी ठान्छन् ।

४. विदेश गएकामध्ये ४५ प्रतिशत अदक्ष, कम पारिश्रमिकमा जोखिमपूर्ण काम गर्दै श्रमिक

मकवानपुर । नेपालबाट रोजगारीका लागि विदेश गएकामध्ये ४५ प्रतिशत अदक्ष रहने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार नेपालबाट हाल दैनिक औषतमा २ हजार जना रोजगारीका लागि विदेश जाने गरेकोमा ९ सयभन्दा बढी अदक्ष रहने गरेका छन् । बिना सिप विदेशिँदा कम पारिश्रमिकमा बढि जोखिमपूर्ण काम गर्न श्रमिकहरू बाध्य भएका छन् । भने कामदारको दुर्घटना र मृत्युको समेत जोखिम बढाउने गरेको छ ।

पछिल्ला १४ वर्षमा वैदेशिक रोजगारीमा गएका १० हजार ९ सय ३२ जना नेपालीको मृत्यु भएको छ । यसमा कुनै न कुनै रुपमा कामदारको दक्षता र पारिश्रमिक पनि जोडिएको विज्ञहरू बताउँछन् । कामदारलाई राज्यले आधारभुत सिप सिकाएर मात्रै विदेश पठाउनुपर्ने रोजगार विज्ञ गणेश गुरूङले बताउनुभयो । तर वैदेशिक रोजगारीमा सिपयुक्त जनशक्ति पठाउने प्रयास गरिरहे पनि सोचेजस्तो हुन नसकिरहेको वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालको भनाइ छ ।

वैदेशिक रोजगारीमा जान चाहनेमध्ये कतिपयले सिप सिक्न पनि नचाहने गरेका छन् । तर, एकातिर जोखिम कम हुने र अर्कोतिर पारिश्रमिक पनि बढी हुने भएकाले वैदेशिक रोजगारीमा आफ्नो रुची अनुसारको सिप सिकेर जानु कामदारका लागि पनि फाइदाजनक छ ।

५. तातोपानी नाका तीन वर्षदेखि ठप्प

मकवानपुर । व्यावसायिक हिसाबले सबैभन्दा महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि पूर्ण रुपमा खुलेको छैन । नयाँ सरकार गठनसँगै चीनले तीन वर्षदेखि बन्द रहेको रसुवागढी र हुम्लाको यारी नाका खोले पनि सिन्धुपाल्चोकको तातोपानी नाका अझै नखुलाएको हो । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट निर्यात ठप्प भएको सात वर्ष पुगेको छ । मितेरी पुलदेखि चीन–नेपाल दुवै तर्फको करिब ५ किलोमिटर क्षेत्र अहिले सुनसान छ  ।

यो नाकाबाट दैनिक तीनवटा कन्टेनर मात्रै भित्रिने गरेका छन् । राजधानी काठमाडौँबाट चीनको व्यापारिक बजार खासा १ सय २४ किलोमिटरको दुरीमा छ । तर चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिनसम्म लाग्छ । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने र पुलमा सामान झार्दा टुटफुट भएर घाटा हुने भएकाले नेपाली व्यापारी तातोपानी नाकाबाटै सामान ल्याउन चाहन्छन् । तर, यसमा चिनियाँ पक्ष अनुदार देखिएको नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनुभयो ।

तिब्बतमा कोरोना महामारीविरुद्ध लगाइएको निषेधाज्ञा अझै जारी छ । बेइजिङको शून्य कोभिड नीतिका कारण चीनमै थन्किएका व्यापारिक सामग्री ल्याउन ढिलाइ भएपछि अधिकांश नेपाली व्यापारी पेसाबाटै पलायन भएका छन् । भूकम्प, भोटेकोसीको बाढी, वर्षा र सुक्खा पहिरोसहित हिमपात, कोरोना सङ्क्रमण जस्ता अनेक कारण देखाएर नेपाललाई अप्ठेरो परेकै बेला चिनियाँ नाका बन्द भएपछि नेपाली व्यापारीले कठिनाइ बेहोर्नुपरेको छ । भूकम्पपछिको पुनर्निर्माण भइसकेको र सुख्खा बन्दरगाह पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरो खुलाउन नेपाल सरकारले समेत पहल नगरेको व्यवसायीको गुनासो छ ।

६. पहाडी भू–भागमा आंशिक बदली, पश्चिमी तथा मध्य तराईमा कुहिरो

मकवानपुर । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण देशभर चिसो बढेको छ भने पहाडी भू–भागमा आंशिक बदली देखिएको छ । त्यस्तै पश्चिमी तथा मध्य तराईमा कुहिरो लागेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ को हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई मधेसमा भने अझै केही दिन कुहिरोको प्रभाव रहने र शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

७. मध्य सोमालियाको हिरान क्षेत्रमा कार बम विस्फोट हुँदा २६ जनाको मृत्यु

एजेन्सी । मध्य सोमालियाको हिरान क्षेत्रमा भएका दुई कार बम विस्फोटमा परि एकै परिवारका नौ सहित २६ जनाको मृत्यु भएको छ । अल–कायदासँग सम्बन्धित समूह अल–शबाबले आक्रमणको पछाडि आफ्नो हात रहेको बताएको छ । अल–शबाबले यस अघि पनि अगस्ट एक होटलमा आक्रमण गर्दा २० भन्दा बढीको र अक्टोबरमा २ ओटा कार विस्फोट गराउँदा १ सय भन्दा बढीको मृत्यु भएको थियो ।

राष्ट्रपति हसन शेख मोहम्मदले इस्लामवादी लडाकुहरू विरुद्ध “पूर्ण युद्ध“ को वाचा गरेपछि पछिल्लो केहि महिना यता अल–शबाबले आतङ्कारी गतिविधिलाई तीव्र पारेको छ ।

८. भू–मध्यसागरको बाटो हुँदै युरोप प्रवेश गर्न चाहने २४ हजारभन्दा बढीलाई लिबिया फर्काइयो

एजेन्सी । सन् २०२२ मा भू–मध्य सागरको बाटो हुँदै युरोप प्रवेश गर्न चाहने २४ हजार छ सय ८४ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएमले सार्वजनिक गरेको तथ्याङ्कमा लिबियाको तटीय क्षेत्र, मध्य भूमध्यसागरीय मार्गमा पाँच सय २५ आप्रवासीको मृत्यु भएको उल्लेख छ ।

आईओएमले गत साता मात्रै एक हजार ८८ आप्रवासीलाई उद्धार गरी लिबियातर्फ फर्काइएको जनाएको छ । सन् २०११ मा लिबियाली नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा असुरक्षा र अराजकताका कारण धेरै आप्रवासीहरू, अधिकांश अफ्रिकीहरूले भूमध्यसागर पार गरेर लिबियाबाट युरोपेली किनारातिर जाने गरेका छन् ।

९. नेपाल टी–ट्वेन्टी लिगमा देखिएको विवादबारे छानबिन गर्न राखेपद्वारा समिति गठन

मकवानपुर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राजधानीमा जारि नेपाल टी–ट्वेन्टी लिग क्रिकेटको पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको छ । परिषद्को कार्यकारी समितिको हिजो बसेको बैठकले परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो ।

राखेपले कार्यदललाई सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ । यसैबिच नेपाल टी–ट्वेन्टी लिगमा आज पनि दुई खेल हुँदैछन् । पहिलो बिहान ९ बजे जनकपुर रोयल्स र पोखरा एभेन्जर्स खेल्दा दोस्रो खेलमा दिउँसो १ बजे फार वेस्ट युनाइटेड र काठमाडौं किङ्ग्स बिच प्रतिस्पर्धा हुनेछ ।

१०. आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाईनल आज

मकवानपुर । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीच दोस्रो सेमिफाईनल खेल हुँदैछ । यि दुई बिचको बिजेताले उपाधीका लागि संकटासँग प्रतिस्पर्धा गर्नेछ ।
संकटा हिजो भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*