बागमतीका मुख्यमन्त्री लामा र स्विस राजदूत म्युलीबिच भेटवार्ता
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र नेपालका लागि स्विस सरकारका राजदूत डा. डेनियल म्युलीबिच भेटवार्ता भएको छ। मंगलबार भएको भेटमा राजदूत म्युलीले स्विस सरकारबाट बागमती प्रदेशमा सञ्चालनमा रहेका परियोजनाहरूको साथसाथै नेपालमा संविधान कार्यान्वयनमा स्विस सरकारले गरिरहेको परियोजना सहयोगको बारेमा मुख्यमन्त्री लामालाई जानकारी गराएकी थिइन् ।
राजदूत म्यूलीले हाल बागमती प्रदेश सरकारले आफैँले प्राविधिक तथा व्यावसायिक सीपसम्बन्धी ऐन जारी गरी प्रादेशिक तहमै रोजगारी प्रवर्द्धनका लागि गरेको प्रयासको प्रशंसा गरिन्। बागमती प्रदेशमा हाल स्विस सरकारको सहयोगमा ६ वटा परियोजना कार्यान्वयनमा रहेको र थप दुईवटा परियोजना सुरुवातको प्रक्रियामा रहेको उनको भनाइ छ।
भेटमा मुख्यमन्त्री लामाले स्विस सरकारले गरिरहेको सहयोगका बारेमा आफू जानकार रहेको र नियमित सहयोगको अपेक्षा रहेको बताएका थिए। बागमती प्रदेश सरकारले स्विस सरकारसँग मूल रूपमा प्रविधि हस्तान्तरण र पर्यटन विकासमा सहयोगको अपेक्षा रहेको उनको भनाइ थियो।
बागमती प्रदेशमा पर्यटन र जलविद्युत् उत्पादनको अथाह सम्भावना रहेकाले यस क्षेत्रमा प्रविधि हस्तान्तरण र लगानीका लागि स्विस सरकारले सहयोग गर्दा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने मुख्यमन्त्री लामाले बताए।