क्लबस्तरिय खुल्ला फुटबल प्रतियोगिता: युग परिवर्तनलाई हराउँदै बकैया फाइनलमा
बकैया: मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-५ स्थित कर्माचुलीमा जारी क्लबस्तरिय खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत बकैया खेलकुद विकास समिती फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा युग परिवर्तन बागमती गाउँपालिकालाई १-० गोलले हराउँदै बकैया फाइनलमा प्रवेश गरेको हो ।
बकैयाको जीतमा अभिषेक भोलनले खेलको ६५ औँ मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच बकैयाका बिक्रम लामा घोषित भए । जन एकता क्लबको आयोजनामा मंसिर १७ गतेदेखि जारी प्रतियोगितामा ८ टिम सहभागी थिए । युग परिवर्तनले हेटौंडा फुटबल एकेडेमीलाई ३-० गोल अन्तरले र बकैया खेलकुद विकास समितिले बाराको पिलुवा युवा क्लबलाई २-० गोलअन्तर हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बागमती युवा क्लब सर्लाही र आयोजक जन एकता क्लबबीच प्रतियोगिता हुनेछ । प्रतियोगिताको फाइनल खेल २३ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।