वीर अस्पतालको खरिद इकाई मेडिकल माफियाको कब्जामा

बकैया दर्पण संवाददाता
४ कार्तिक २०८०, शनिबार ०८:१६

काठमाडौं ।देशकै पहिलो र  ठूलो अस्पतालका रुपमा परिचित वीर अस्पतालको खरिद इकाई मेडिकल माफियाको योजना र दवाव अनुसार बनेको छ । असाेज २२ गते  शुक्रबार वीर अस्पतालबाट फाइल उठेर गठन भएको खरिद इकाईमा नियुक्त सदस्य नवराज श्रेष्ठ विगतदेखि नै विवादमा परेका ब्यक्ति हुन् ।

श्रेष्ठले ग्यास्ट्रो मेडिसिन ओपीडीमा रहँदा बिरामीसँग पैसा लिई इन्डोस्कोपी, क्लोनस्कोपी गराई सो रकम अस्पतालको खातामा जम्मा नगरी अनियमितता गरेका थिए । विरामीलाई वीर अस्पतालमा समय मिल्दैन भनी निजी अस्पतालहरु र प्राइभेट अस्पतालमा पठाएर पनि कमिसन लिने गरेको आरोप श्रेष्ठमाथि लाग्ने गरेको थियो ।

सो सम्बन्धमा तत्कालीन मेडिकल विभाग प्रमुख डा.विधान पौडेल र डा.अजित खनालले अस्पताल प्रशासनलाई श्रेष्ठका एक एक अनियमितताका प्रमाणसहित उनलाई कारबाही गर्न सिफारिस गरेका थिए । तर निजी अस्पताल संचालकले उनीमाथिको कारबाही रोकेका थिए । त्यसपछि निजी नर्सिङ कलेज संचालकको योजनामा अस्पतालको समन्वय शाखा प्रमुख बनेका थिए श्रेष्ठ । समन्वय शाखामा हुँदा पनि उनले कमाउधन्दालाई निरन्तरता दिन छाडेनन् । उनले निजी नर्सिङ कलेजका विद्यार्थीलाई वीर अस्पतालमा प्रयोगात्मक अभ्यास गराउन विभिन्न नर्सिङ कलेजलाई  मापदण्ड विपरीत बर्षौंसम्म  सहमति दिएका थिए ।

 

अभ्यास गराउन सहमति दिई सो बापत अस्पतालमा तिर्नुपर्ने शुल्क अस्पतालमा दाखिला नगरी आफंैले लिने गरेका थिए । श्रेष्ठले अन्य बिधाका विद्यार्थीका लागि पनि अभ्यास गर्न दिंदा अनियमितता गरेको, सोही शाखा अन्तर्गतको सामाजिक सेवामा पैसा लिदै १६ जना सहजकर्ता कर्मचारी भर्ना गरेका थिए ।

श्रेष्ठले वीर अस्पतालमा स्वास्थ्य विमाबाट कुल कमाईको १० प्रतिशत कमिसन लिन खोजेका थिए । तर कर्मचारीहरुको विरोध र रकम नपाउने भएपछि बिमा कार्यक्रम नै असफल बनाउन लागेका थिए । हालका निर्देशक डा. सन्तोष पौडेलले श्रेष्ठलाई बिमा कार्यक्रमबाट हटाएर अरुलाई जिम्मेवार दिएपछि अहिले सामाजिक र  बिमा सेवा केही हदसम्म राम्रो भैरहेको छ । श्रेष्ठले बिमा कार्यक्रम राम्रो भइरहेको समयमा बिमा हेर्ने कर्मचारी सरुवा गर्न मन्त्रालयमा दबाब दिइरहेका छन् ।

 

श्रेष्ठ कोभिड महामारीमा कोभिड भ्याक्सिन खोप लगाउने कार्यक्रममा पनि सहभागी थिए । उनले सो समयमा पनि भारतीय नागरिक जो चीनमा अध्ययन र ब्यापार गर्दैआएका छन्, तिनीहरुलाई सरकारी मापदण्डविपरीत काठमाडौंका  होटल–होटलमा गएर कोरोना भ्याक्सिन लगाउने गरेका थिए । विदेशी नागरिकलाई प्रतिब्यक्ति ३५–४० हजार लिएर  भेरोसिल भ्याक्सिन लगाएको आरोप उनीमाथि लागेको थियो । उनीसँग सम्पर्क बढेपछि सो समयमा भारतीयहरु हवाईजहाज पूरै चार्टर्ड गरेर हजारौंको संख्यामा नेपाल आएर उनै श्रेष्ठसँग खोप लगाएर चीन जान्थे ।

 

सो समयमा उनले नेपालीका लागि आएको भ्याक्सिन बिदेशीलाई घुस लिएर लगाई करोडौं रुपैयाँ कमाएका थिए । श्रेष्ठले कोरोना खोप दुरुपयोग गरेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग र स्वास्थ्य मन्त्रालयमा उजुरी परेको थियो । सो उजुरीमा अहिलेसम्म पनि सतर्कता र अख्तियारमा छानबिन भइरहेको खरिद एकाईका एक सदस्य बताउँछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*